स्मृतीको लोकमा

मैले बाँचेर आएको एउटा सुन्दर समय छ । के कसैले खोसेर देखाउन सक्छ त्यो अतीत म र मेरो स्मृतीबाट ?
मैले चुहाएका आँशुका धाराहरु मेरा आँखाको डिलमा उहिल्यै सुकिसकेको छ । मैले हाँसेका हाँसोका गुञ्जन अतीतको गर्तमै कतै लोप भइसकेको छ । मैले मानेका उदासीहरु पनि समयको भुमरीभित्रै कतै हराइसकेको छ । मभित्रबाट कुर्लिएका क्रोधका क्रन्दनहरु अतीतको कुहिरोभित्र कुहिसकेको छ । समयले मसित इत्रिँदै मलाई पटक पटक कुत्कुत्याएको छ, त्यो कुत्कुत्याइको मजा मेरै अघिल्तिर जिब्रोमा कटन क्यान्डी बिलाए झैँ मिठोसित बिलाइसकेको छ ।
म मर्न नसकेर बाँचेको पल होस्, म बाँच्न नसकेर मर्न चाहेको पल होस्, म बाँच्दा बाँच्दै बाँच्नुकै मोह बढेको पल होस्, हरेक पलहरुलाई पटक पटक जिइरहेको छु । मैले समयका हरेक खुड्किलाबाट, मैले समग्र यो जीवनबाट पाएका हर अनुभूतिहरुलाई मस्तिष्कका खण्ड खण्डमा सुरक्षितसित राखेको छु ।
हो, म बिगतलाई बिगतमै सीमित राख्न चाहन्न । म बिगतको औँला समाएर तिनलाई आगतको आँगनसम्म डो¥याएर लैजान चाहन्छु । स्मृतीको खण्ड खोतलेर, म बिगतलाई छानीछानी बर्तमानमा पनि पटक पटक जिइरहन चाहन्छु । त्यसैले मलाई मानव अंगमा सबैभन्दा सुन्दर यहि मस्तिष्क लाग्ने गर्छ । मस्तिष्कको घडामा स्मृतीहरु टिलपिलाइरहेको, छचल्किरहेको कुनै निष्णात नृत्याङ्गनाको कम्मरको मर्काइभन्दा कम कहाँ होला र ? लाग्छ मस्तिक कुनै चुरोट हो, जसमा स्मृतीको आगो झोसिएपछि मस्तिष्क मजाले सल्कन्छ र भित्रदेखिको आनन्द धुवाँसरी हावामा फिजिँद, तैरिँदै जान्छ । स्मृतीको लोकमा पुगेर कहिलेकाँही म ध्यानस्त हुन्छु । वर्तमानका दुःख, कष्ट (यदि छन् भने) लाई समेत बिर्साउने हैसियत राख्छन् स्मृतीहरु । यसर्थ स्मृतीहरु मल्हम हुन् ।
अतीत हर मान्छेको हुन्छ । हर मान्छेसित हुन्छ । कसैले अतीतलाई बिस्मृतीको दराजमा गुम्स्याएर राख्ने गर्छन्, कसैले अतीतलाई काँधैमा च्यापी सकी नसकी घिस्स्याएर हिँड्ने गर्छन् । अतीत जतिसुकै पतित होस्, राम्रो होस्, नराम्रो होस्, जस्तोसुकै व्यतीत भएको होस्, अतीत चाहे गीत भएको होस् चाहे शीत भएको होस्, अतीत बस् अतीत हो ।
हामी भन्छौँ, ‘त्यो समय, म सम्झन पनि चाहन्न ।’
भन्छौँ यस्तो पनि, ‘बिर्सन पाए हुन्थ्यो त्यो नमीठो पल ।’
कोही नमीठो अतीतले लखेटिएको साथीलाई बडो सल्लाह दिन्छौँ, ‘बिर्सिदेऊ यार ती सब कुरा !’
यति सजिलो कहाँ छ ? मान्छेको मस्तिष्क हो, इरेजर कहाँ हो र ? अतीत कपडा सिलाउँन खोज्दा उब्रेको टुक्रो होइन जसमाथि सजिलै बिस्मृतीको कैँची चलाउन सकियोस् ।
मान्छेलाई स्मृतीहरुसम्म पु¥याउने लाखौँ बाटोहरु छन् । वर्तमानमा तिमी एक त्यान्द्रो धागो देख, अथवा एक थुँगा फूल देख, त्यसले तिमीलाई अतीतको मालामा लगेर उनिदिन्छ । वर्तमानमा आकाश एकपटक गड्याङगुडुङमात्र गरोस् त्यसले तिमीलाई अतीतमा लगेर भिजाइदिन्छ । वर्तमानमा गाडीको गुडिरहेको एउटा चक्कामा एकछिनमात्र ध्यान जाओस् त त्यसले घुमाइदिँदै फनफनाइदिँदै अतीतमा लगेर रन्थन्याइदिँदै पछारिदिन्छ । कहिलेकाँही त कुनै गीतको एउटा स्थायी सुन्दामात्र पनि अतीतका अन्तराहरु आफसेआफ गुन्गुनाउँदै सामुन्ने तेर्सिदिन्छन् । कहिलेकाँही हिँड्दा हिँड्दै वा बस्दा बस्दै, कुनै पर्फयूमको मन्द गन्धलेमात्र सारा बाटोहरु बन्द गराएर अतीतको आकाशमा निर्बन्ध, स्वच्छन्द उडाइदिन्छन् ।
अतीत पो बितिसक्यो, सकिसक्यो, त्यसले छाडेका अधिकांश अवशेषहरु हाम्रो मस्तिष्कमा हुन्छन् र त्यहाँसम्म लैजाने हजारौँ बाटोहरु नजीकबाट हामी दिनहुँ गुज्रन्छौँ । नमीठै भएपनि अतीत बिर्सिजाने चीज होइन, स्मृतीको खण्डबाट झिकेर सामना गर्ने चीज हो । नमीठो अतीतलाई स्मरण गरेपछि मिठो अतीतलाई स्मरण गर्ने, त्योजति मिठो फेरि अर्थोक के होला र ?
मैले खुल्ला राखेका मेरा मस्तिष्कका झ्याल र ढोकाबाट मैले रुचाएका स्मृतीहरु निर्वाध ओहोरदोहोर गरिरहून् । म तिनै स्मृतीहरुसित बिचरण गरिरहन चाहन्छु ।

 

 

 

 

Posted in blog(fp).