सपनालाई पछ्याउँदा

हामी सपनालाई चरा मान्छौँ तर त्यसलाई निस्फिक्री आकाशमा उड्न नदिएर पिँजडामा कैद गर्छौँ । हामी सपनालाई धरती मान्छौँ तर तिनमा हरिया बृक्षहरुलाई रोप्न, हुर्काउन, बढाउन, स्याहार्न अल्छी मान्छौँ ।
हामी सपनाहरु जन्माउँछौँ तर जन्मिएका ती सपनालाई उचित पोषण दिँदैनौ । कलिला ती सपनालाई सुम्सुम्याउन खोज्दैनौँ । सपनाको कलिलो हात समातेर डो¥याउँदै कहीँ लैजान हिच्किचाउँछौँ । धैर्यपूर्वक तिनलाई पिठ्यूँमा बोकेर आफैँसँग लैजान धकाउँछौँ ।
यहाँ धेरै सपनाहरु त लाज, संकोच र आफैँप्रतिको अविश्वासको धारमा परेर दिनहुँ रेटिइरहेछन् । यहाँ धेरै सपनाहरु पानीको फोकाझैँ आकारमा आउँछन् र क्षणभरमै फुटेर सिदिन्छन् । यहाँ कति सपनाहरु आफ्नै विवशतामा घुन झैँ पिसिइन्छन् । कैयौँ सपनाहरु अरुका खातिर बिर्सिइन्छन् ।
कैयौँ आँखाहरु छन् जो सपना देख्नमात्र अभ्यस्त छन् । कैयौँ हृदयहरु खोतलेर हे¥यो भने भेटिँदा हुन् सपनाका चिहानै चिहान । यहाँ सपना नहुने कोही छनै । जसमा जीवन छ तिनमा सपना छन् । सपना हुनु भनेकै जीवित हुनुको पयार्य हो ।तर केही हृदयहरु सपना भएर पनि नभएजस्तो गर्न अभिसप्त छन् । केही आँखाहरु देखेका सपनालाई आँखैमा थुन्न विवश छन् । कैयौँ आँखाहरुलाई, हृदयहरुलाई यो पनि लाग्दो हो कि सपना देख्नु त बिलासित हुँदो हो ।

थाहा छैन यी सपनाहरु कहाँ गम खाइरहेछन् ? यी सपनाहरु कहाँ छट्पटाइरहेछन् ? किन छट्पटाइरहेछन् ? मान्छे आफ्नै सपनाको भार उठाउन पनि किन असक्षम भइरहेछ ? आफ्नै सपना साकार गराउन हिँडेको बाटोमा हिँड्दा हिँड्दै किन लड्खडाइरहेछ ? आफ्ना जायज सपनाहरुलाई पनि नाजायजझैँ बर्ताव गरेर किन धिक्कार्छ ?
लाग्दो हो कि मान्छेलाई कतै आफूले देखेका सपनाहरु बोकेर संघर्षको उकालो उक्लिन सक्तैन । लाग्दो हो कि ऊसले देखेको सपनाको मूल्य ऊ चुकाउन सक्तैन ।
सपना देख्नु चोरी गर्नु होइन । कसैलाई ढाँट्नु होइन । कुनै अपराध पनि होइन । हामी अभिसप्त छैनौँ भएका सपनालाई पनि नभएजस्तो गर्न । हामी विवश छैनौँ आफ्नो सपनालाई आफ्नै आँखाभित्र थुन्न । हामी लाचार छैनौँ आफ्नै सपनाको घाँटी निमोठ्न । सपना देख्नु भनेको त आफ्नो मुर्झाउँदै गइरहेको जीवनमा एक झर पानी वर्षाउनु हो । सपना देख्नु भनेको जिन्दगीका धेरै पाटाहरु खोज्नु हो, जिन्दगीका रंगहरु देख्नु हो । सपना देख्नु भनेको आफैँलाई बलियो बनाउनु हो ।
जिन्दगी आफ्नो हो । भविष्य आफ्नो हो । खुसी आफ्नो हो । सपना झन् आफ्नै हो । मान्छेसित सबैभन्दा नीजि केही छ भने त्यो उसको सपना हो । मान्छेको सबैभन्दा आत्मीय केही हुन्छ पनि ऊसको सपना हो । मान्छेलाई मान्छे कुनै चीजले बनाउँछ भने त्यो उसकै सपनाले बनाउँछ । मान्छेलाई बाँच्ने प्रेरणा उसकै सपनाले दिन्छ । मान्छेको ओठमा मुस्कानको झण्डा ऊसको सपनाले नै गाढ्ने हो । मान्छेलाई आफैँप्रति गर्व गराउन सिकाउने ऊसकै सपनाले हो ।
यो पक्कै हो कि आफ्नो सपनाले देखाएको बाटो हिँड्न बडो कठिन छ । हो आफ्नो सपनालाई पछ्याउन सजिलो छैन । सपनाले कुनै बाटोमा लैजान पनि सक्छ । नलैजान पनि सक्छ । सपना पछ्याउँदा सजिलै कहीँ पुग्न पनि सकिन्छ । पटक पटक अल्मलिन पनि सकिन्छ ।
जसरी पानीमा बाटो हुन्न र किनारालाई लक्ष्य गर्दै आफैँ बाटो बनाउँदै अघि बढ्नु पर्छ, सपनालाई पछ्याउँदा पनि बाटोहरु नभेटिन सक्छन् । बाटो आफैँ बनाउँदै हिँड्नुपर्छ । आफ्नो सपनालाई पछ्याउँदा धेरैपटक लाग्न सक्छ कि यो पछ्याइ निरर्थक छ । लाग्न सक्छ यो मृगतृष्णासरीको भागदौड बाहेक केही होइन । आफैँले आफैँलाई मूर्ख भन्न मन लाग्नेछ, किनकि त्यहाँ हामीलाई मूर्ख भन्ने आवाजहरु प्रशस्त भेटिनेछन् ।
कसैले केही राम्रो भनोस्, या नराम्रो भनोस्, कुनै लक्ष्यमा पुगोस् या नपुगोस्, पुरा होस् या नहोस् तर सपना देख्नु मान्छे हुनुको परिचय हो, देख्न छाड्नुहुन्न ।

प्रकासितः कान्तिपुर साप्ताहिक 

असार १ गते 

 

Posted in blog(fp).