विचार मिल्ने/ विचार नमिल्ने

उमेर बढ्दै गएपछि सोचहरू पनि बद्लिँदै जाँदा रहेछन् । त्यही एउटै चीजलाई हेर्ने आँखा पनि फरक भैदिँदो रहेछ । पुराना कुराहरू नयाँ लाग्दा रहेछन् र केही नयाँ कुरा पुराना पनि लाग्दा रहेछन् ।एउटा सोचमा यसैगरी परिवर्तन आएको म भर्खरै महसुस गर्दैछु । पहिले-पहिले म सोच्थेँ, जोसँग विचार मिल्छ उसैसित मन पनि मिल्छ र उही सबैभन्दा मिल्ने साथी हुन्छ । अहिले केही फरक महसुस गर्दैछु ।हो, यो कुरा पक्कै हो कि जीवनमा साथी त्यसलाई मात्र बनाइयो जोसित धेरैभन्दा धेरै कुरा मिल्छ । आफूभन्दा फरक विचार र स्वभावकाहरूबाट सधैँ भागियो । तिनीहरूको सधैँ खिसी गरियो । तिनीहरूले पनि सधैँ मेरो खिसी नै गरे ।

आपसका विचार मिल्ने साथीहरू सँगै बसिन्थ्यो र कुरा काटिन्थ्यो, ‘फलानो यस्तो लाउँछ,’ ‘फलानो यस्तो खान्छ,’ ‘फलानो यस्तो म्युजिक सुन्छ,’ ‘फलानोका त बा–आमा पनि यस्ता छन्’ यस्तै–यस्तै ।

मैले कहिल्यै सोचिनँ, त्यो ‘फलानो’ जसको म कुरा काटिरहेछु, जसको मजाक उडाइरहेछु त्यसको आँखामा म कस्तो देखिन्छु ? मैले सुन्ने गीत उसले सुन्दैन । मलाई मन पर्ने खानेकुरा ऊ कहिल्यै खाँदैन । मैले लाएजस्तो लुगालाई ऊ ‘पाखे’ वा यस्तै केही भनेर सम्बोधन गर्दो हो । मैले बोल्ने तरिका उसलाई अजीव लाग्दो हो ।

आजभोलि बल्ल आएर दृष्टिकोणमा बसेको एक पत्र काई पखालिएर गएको छ । मेरो दृष्टिकोणमा मसित विचार नमिल्नेहरू जस्तो भए पनि अथवा उनीहरूको दृष्टिकोणमा म जस्तोसुकै भए पनि मजा त्यसैमा छ । रमाइलो त्यसैमा छ । सबै मान्छे एकैखालका भए भने संसारमा रमाइलो खोइ ? बगरैबगर हिँड्दा बाटो दिक्कलाग्दो हुन्छ । मरुभूमि नै मरुभूमिमा हिँड्दा–हिँड्दा वाक्क लाग्छ । जहाँसम्म आँखा पुर्‍याउँm, जता पनि बाह्रै महिना बाह्रै काल हिउँ नै हिउँ देखियो भने त्यसले पनि मजा दिँदैन । जिन्दगी मोनोटोनस हुन्छ ।

संसारमा सबै मान्छेको बानीबेहोरा उस्तै भैदिएको भए मान्छेलाई मान्छेमा रुचि नै लाग्दैनथ्यो होला । प्रेम भन्ने चीजको पनि अस्तित्व रहन्नथ्यो होला । सरप्राइज भन्ने चीजमा मान्छे कति रमाउँछ । नौलो र रुचिकर घटनाहरूपनि तब घट्छ जब विचार नमिल्नेहरू एकत्रित हुन्छन् । विचार मिल्ने–मिल्नेबीचमा विरलै केही रुचिकर हुन सक्छ ।

कुनै नयाँ मान्छेसित बोल्दा उसको अनुहार हेर्न मन लाग्छ । ऊ कसरी बोल्छ ? जान्न मन लाग्छ । उसले मेरो कुन प्रश्नमा कस्तो जवाफ दिन्छ ? यो कौतूहलले ऊसित बोल्नुको मजा दिइरहेको हुन्छ । कुन घटनाप्रति कसको दृष्टिकोण कस्तो हुन्छ ? जान्न मन लाग्छ । सबै मानिसको विचार एउटै र उस्तै नभएकाले पत्रिकाका लेखहरू पनि फरक अनि रोचक लाग्छन् । फरक–फरक विचार भएका मानिसहरूका फरक–फरक सिर्जना हेरेरै हामी रमाइरहेका हुन्छौँ । कुनै कलाकार आर्ट सिनेमा खेल्छन्, कोही कमर्सियल । दर्शक पनि त्यसैगरी बाँडिएका छन् । कसैलाई आर्ट मन पर्ने, कसैलाई कमर्सियल ।

यो संसार यसैले सुन्दर छ । मलाई त्यसैले आजकाल विचार मिल्ने मान्छेमात्र होइन, विचार नमिल्ने मान्छेहरूप्रति पनि रुचि जाग्न थालेको छ । कति रमाइलो हुन्छ । म आगो सोचिरहँदा ऊ पानी सोचिरहेको हुन्छ । ऊ आगो ओकलिरहँदा म पानी सोचिरहेको हुन सक्छु । हरेक संवादमा उत्तेजना हुन्छ । धेरै कुरा सिक्न पाइन्छ । आफ्नै जस्तो विचार हुनेसित बोल्दा अघिल्लो संवाद के बोल्छ उसले ? थाहा हुन्छ ।

ऊ के सोचिरहेको हुन सक्छ थाहा हुन्छ । सब चीज पहिल्यैदेखि थाहा हुन्छ वा कम्तीमा अनुमान गर्न सकिन्छ भने जीवनमा त्यसले उत्तेजना दिँदैन । रमाइलो दिँदैन । विचार नमिल्ने मान्छेसित संगत गर्दा हाम्रो दिमाग पनि चुस्त रहन्छ । त्यसैले पहिले–पहिले छानीछानी आफूजस्तै मान्छे भन्दै खोजीखोजी साथी बनाउँदै हिँडियो । ‘केही नमिल्ने’ भन्दै धेरै मान्छेलाई दूरदूर गरियो । अहिले मलाई हरेक तरहका मान्छे मन पर्छन् ।

यो लेखमा आएका विचारमा असहमति जनाउने पनि थुप्रै भेटिन्छन्, मलाई ती असहमति पनि रुचिकर लाग्नेछन् । किनभने यस्तै फरक विचारहरूले नै जिन्दगी सुरुचिपूर्ण हुन्छ ।

Posted in blog(fp).