लाखौं पाठक भन्छन् ! तपाईँले त मेरो कथा लेखिदिनु भएछ

सुबिन भट्टराई पछिल्लो समयमा युवापुस्तामा रुचाईएका साहित्यकारको सुचिमा पर्ने साहित्यकार हुन्  । पहिलो कथा संग्रह ‘कथाकी पात्र’बाट साहित्यमा होमिएका सुबिनलाई ‘समर लभ’ उपन्यासले सेलिब्रेटी नै बनाईदियो ।’समर लभ’कै दोश्रो भाग ‘साया’ पनि बजारमा राम्रै चल्यो ।आफूलाई फरक धारको लेखक भन्न रुचाउने भट्टराई यसै वर्ष ‘मनसुन’ लिएर बजारमाsubinआउँदै छन् ।प्रेम र सेक्सलाई अलि केन्द्रबिन्दु बनाउने सुबिन सामाजिक संजालमा ब्यापक रुपमा देखिन्छन ।प्रस्तुत छ :उनै भट्टराई संग अर्जुन खनालले गरेको  साहित्यको बारेमा छोटो भलाकुसारी हिमाल पोष्टको लागि –

✍ तपाईँको बिचारमा प्रेम के हो ?

-मानिसहरुसित सम्बन्धित भएर सोध्नुभएको हो भने, प्रेम जैविक र रासायनिक परिवर्तन हो जसले यौन र आकर्षणको भावनालाई नियन्त्रण गर्दछ ।

समर लभबाट सेलिब्रेटी नै हुला भन्ने लागेको थियो कि ?

-सेलिब्रेटी त म अहिलेपनि हुँ जस्तो लाग्दैन । तर पुस्तकले राम्रो माया पाउँछ भन्नेमा चैँ विश्वस्त थिएँ ।

✍अजको युवाले के चाहान्छ्न तपाईँको विचारमा ?

-आजको युवा निर्बन्ध हुन रुचाउँछ । स्वतन्त्रता मन पराउँछन् । र युवाहरूको त्यो किसिमको इच्छाको सबैले कदर गर्नुपर्छ भन्ने लाग्छ ।

कक्षा नौ को कोर्षमा समर लभ उपन्यास पढाएको हल्ला पनि आयो, व्यापक विरोध पनि सुनियो, तपाईँ पनि विवाद मा तानिनु भो, खास मा यो के थियो?

-देशभरका स्कुलमा राखिएको होइन । कुनै एउटा स्कुलले राखेको हो । पुस्तक मेला हुँदा फाइन प्रिन्टको स्टलमा गएर नौ क्लासमा किताब राख्न चाहन्छौँ भनेर पुस्तकसमेत किनेर लगेका पनि हुन् । र मलाई बोलाएर त्यही कक्षामा अन्तरक्रिया पनि गराएकै हुन् । मैले विद्यार्थीहरुसित अन्तरक्रिया गर्दै गरेको फोटो सोसल मेडियामा राखेँ । पछि स्कुलमा केही पत्रकारहरु गएर धम्क्याएर मलाई त्यो पोस्ट हटाउन लगाए । यत्ति हो कुरा ।

तपाईँलाई युवतीहरु खुब रुचाउँछन् रे, प्रेम प्रस्ताब  पनि निकै आउछन् होला? कुनै सुनाउन योग्य घटना…..?

-मेरो लेखाइलाई आएका प्रस्तावहरु होलान् । मैले सिरियस्ली लिइँन त्यस्ता प्रस्तावहरूलाई । यस्तो धेरैपटक भएको छ । मलाई लेख्नमा प्रोत्साहन नै दिन्छ यस्ता कुराहरूले ।

साहित्यमा प्रवेश गर्ने युवाहरूलाई सफल साहित्यकार बन्ने टिप्स के छ?

-आत्मा भन्ने कुरा हुनु पर्छ । केही हदसम्म गड गिफ्ट पनि हो । बाँकी लगन र परिश्रमले पनि बनाउँछ । अरूका कुराहरू पढ्ने र सुन्ने बानी हुनुपर्छ । घुम्नुपर्छ । अझ एक्लै घुमेको राम्रो । लेख्न अभ्यास पनि गरिरहनुपर्छ । बिस्तारै आफैँमा त्यस्तो चेतना आउँछ ।

नयाँ उपन्यास लेख्नु भा’छ रे ! भन्ने बजारमा हल्ला छ, यो र अगाडिका उपन्यास को के सम्बन्ध छ? के यसले पाठकको अपेक्षा पूरा गर्ला?

-केही सम्बन्ध छैन । मनसुन विल्कुलै नौलो कथासहितको उपन्यास हो । र प्रेमकथा नै हो । मलाई लाग्छ यसले पाठकहरुको अपेक्षा पुरा गर्छ । पढुञ्जेल वहाँहरुले रमाइलो महसुस गर्नुहुनेछ ।

सेक्सलाई सहित्यमा धेरै जोड्ने साहित्यकार भनेर चिन्छन नि तपाईँलाई, के सेक्सलाई यत्ति प्रार्थमिकता दिनु राम्रो हो र?

-अझ कम भयो भन्ने लाग्छ । मैले सेक्सलाई बडो सरल तरिकाले प्रस्तुत गरेको छु । यो अझ खुलेर अझ डिटेलिँगका साथ आउनुपर्छ भन्ने लागिरहेछ । पहिले पहिलेका लेखकहरुको पुस्तक पढ्नुस् न त्यो अझै बोल्ड छ, झनै खुलेर लेखिएको छ । म अलिक लजालु भएर चाहेजति लेख्न सकिरहेको छैन ।

तपाईँको जीवनका उतार चढाव बारे बताइदिनुस न….?

उतारचढाव धेरै छन् । संयोग, पुनर्योग, वियोग आदिले जीवन चलेको हुन्छ । म लेखक बन्नु नै एउटा ठुलो संयोग झैँ लाग्छ । सबैभन्दा महत्त्वपूर्ण उतारचढाव भन्नु पनि मलाई यही लाग्छ ।

एउटा साहित्यकारको नजरबाट बताइदिनुस, देश बनाउन के गर्नु पर्छ?

-स्थिर सरकार, अनुशासित कर्मचारीतन्त्र र सभ्य नागरिक । यी तीन चीज भए देश मज्जाले बन्छ ।

यस्तो राम्रो लेख्ने, बोल्ने मान्छे नेता किन नबन्नु भएको?

-म औसत लेखक र खराब वक्ता हुँ जस्तो लाग्छ । नेताजस्तो गुण त ममा अलिकति पनि छैन ।

साहित्य लेखनमा लेखकको मुख्य प्रार्थमिकता के हुनु पर्छ ?

-लेखनमा मैले चैँ मुख्य प्राथमिकता भाषालाई दिने गरेको छु । भाषामा मिठास भयो भने जे लेखे पनि जुनसुकै विधामा हात हाले पनि त्यो पठनीय र रुचिकर हुन्छ ।

अहिलेको साहित्य लेखनलाई कसरी लिनु भा’छ ?

-धेरै भन्दा धेरै विधामा हात हालिनुपर्छ भन्ने लाग्छ । लेखनलाई पार्ट टायम बनाएर यसो फुर्सदमा लेख्छु भन्नेहरुभन्दा म यसैमा समर्पित हुन्छु भनेर आउने लेखकहरुको आवश्यकता छ । पुरानै घिसिपिटी गरिबी, दुःख, राजनैतिक व्यङ्ग्य, अन्याय र अत्याचारका कथामै हाम्रो साहित्य घुमिराख्या छ । लेखकहरुले नयाँ खालका सिजर्ना गर्न नजान्या हुन् कि नखोज्या हुन् त्यो थाहा भएको छैन । धेरै विषमा हात हालिन बाँकी छ जस्तो लाग्छ । तरपनि आजका अधिकांश लेखकहरु गुरुप्रसाद मैनाली र लीलबहादुर क्षेत्रीको बसाइँकै मियो बनाएर त्यै विषयवस्तुमा मात्र दाइँ गरिरहेका छन् ।

अहिलेको भाषा विवादबारे तपाईँको धारणा के छ ?

-भाषा विवाद जहिल्यै भइरहन्छ यो देशमा । मैले स्कुल पढ्दा एकथरी कुरा सिकेँ । अहिले त्यो सब गलत भन्छन् । हिजो सिक्या कुरा आज परिवर्तन भैसक्या हुन्छ । यसरी भाषा सम्बृध होइन अधोगति र अलमलमामात्र पुग्छ ।

तपाईँले लेखेका कथा र उपन्यासका रचना गर्भ बारे बताईदिनोस न …?

-कथाकी पात्रमा अधिकांश कथा मैले नजीकबाट देखेका, हाम्रै समाजका पात्रहरुको कथा टिपेर राखेको छु । समर लभको कथापनि त्यस्तै हो । म त्रिभुवन विश्वविद्यालय पढ्दा नजीकबाट देखे चिनेका साथीभाइका प्रेम प्रसङ्ग, पोखरा, चितवन टुर जाँदाखेरिका आफ्नै रमाइला अनुभवहरू समेटेर लेखेको छु । मेरा कथा, उपन्यास यथार्थसित बढी नजिक हुन्छन् । त्यसैले हजारौँ, लाखौँ पाठकहरुले मसित प्रत्यक्ष संवाद गर्छन्, ‘सुबिन दाइ, तपाईँले त मेरो पो कथा लेखिदिनुभएछ त ।’

तपाईँको व्यक्तिगत जीवनमा लेखनले के फरक ल्याएको छ?

-जीवनशैली नै फरक भयो । म आफूलाई अघिपछिको उरन्ठेउलो केटोभन्दा बढी आफूलाई जिम्मेवार ठान्न थालेको छु । पठन, लेखन र भ्रमणलाई अनुशासित ढङ्गले व्यवस्थापन गर्दै अगाडी बढिरहेको छु । बाटोमा हिँड्दा मलाई चिनेर बोल्ने अनि फोटो खिच्ने पाठकहरू प्रत्येकपटक भेटिँदा आफ्नो जिम्मेवारी र चुनौतीको एउटा एउटा इटा थपिएको महसुस हुन्छ ।

✍तपाइको लेखनले युवाहरुलाई मनोरंजन दिएपनि खासै जीवनोपयोगी सन्देशदिने  कुरामा कमजोर छ भन्ने गरिन्छ, के भन्नुहुन्छ ?

-भनिन्छन् यस्ता कुराहरू बजारमा अक्सर । म ‘जीवन उपयोगी’ को नाउँमा भार उठाउनै गाह्रो पर्ने पुस्तक लेख्दिनँ । मैले देशमा अनगिन्ती घर बनाएको छु । कुना कुनामा बनाएको छु । नभए छाम्नुस् गएर मेरा प्रिय पाठकहरुको मुटु । उनीहरू मेरा किताब पढेर प्रोत्साहित हुन्छन्, मसित भेट्न रुचाउँछन् । ‘अब म पनि लेख्छु’ भन्ने ऊर्जा पाल्छन् । मसित प्रत्यक्ष संवाद गरेर सोध्छन्, ‘सुबिन दाइ, कसरी लेख्ने ? केही टिप्स दिनुस् न ।’ तपाईँ पत्याउनु हुन्छ या हुन्न तर समर लभ लेखिएपछि देशमा कलम उठाएर दौडाउनेहरुको एउटा ठुलो समूह तयार भएको छ । नपत्याउनेहरुलाई छुट्टै छुट छ तर समर लभ लेखिएपछि पुस्तक पढ्नेहरुको जमात यति धेरै भएको छ कि त्यो भीड देख्नुभो भने तपाईँलाई पसिना आउन सक्छ ।’ के यो सानो कुरा हो ?

तपाईँको बिचार मा साहित्य के हो जस्तो लाग्छ ?

-टेक्निकल्ली त म जान्दिनँ, तर साहित्य मान्छेको मनभित्रका कुराहरूलाई अभिव्क्त गर्ने एउटा सशक्त माध्यम हो जस्तो लाग्छ ।

नेपालमा व्यावसायिक साहित्यकार त्यति भेटिदैन व्यावसायिक साहित्यकार उत्पादनको लागि हामीले के गर्नु पर्छ जस्तो लाग्छ ?

डटेर लेख्नुपर्यो । कोही लेखक सफल भयो भनेर डाहा, ईष्र्या गरेर मात्र हुँदैन । त्यसको पछाडि उसले के कति मिहिनेत गरिरहेको छ यो बुझ्नुपर्यो । मैले माथि नै भनेझैँ अब पनि गुरुप्रसाद मैनालीकाजस्ता कथाहरू र लीलबहादुर क्षेत्रीको बसाइँ मार्काको उपन्यास लेखेर हुँदैन । नयाँ शैली चाहियो, नयाँ विषय चाहियो । वहाँहरुले बनाएकोे श्रद्धेय ठाउँ आफ्नै ठाउँमा छ । हामीले नयाँ कुरा ल्याउनुपर्यो । बजारै हेर्ने हो भने त पाठकको मूड र रुचिको अध्ययन गर्नुपर्यो । उनीहरूको टेष्ट चिन्न सक्नुपर्यो ।

साहित्यमा सफल नभएको भए के बन्ने सपना थियो?

-म वातावरण विज्ञान पढेको मान्छे । सायद कुनै एनजिओ, आइयनजियो र प्रोजेक्टमा काम गरिरहेको हुन सक्थेँ । या कुनै अरू देशमा पलायन भैसकेको हुन सक्थेँ ।

तपाईँ कथा र उपन्यास बाहेक अरू के के लेख्नु हुन्छ ?

-म उपन्यास, कथा अलावा संस्मरण, निबन्ध, अनुभूति, यात्रा साहित्य र कहिलेकाँही कविता पनि लेख्न रुचाउँछु । मलाई शब्दको माध्यमबाट भावुकता र मनोबिज्ञान पोख्न खूब मन पर्छ । तर पाठकहरूलाई धेरै ठुलो बोझ पर्न जान्छ भन्ने भयले पुस्तकहरुमा चाहिँ त्यति पोख्दिनँ ।

http://himalpost.com/subinbhattaraiantar/subin

Posted in Media Coverage.