मेरो लेखन अनुभव र पाठकहरूको प्रेम

छ वर्ष। चारवटा कृति, अनगिन्ती पात्र। लाखौं पाठक/प्रशंसक। हजारौं विरोधी ।
लेखन यात्राको छ वर्षलाई पछिल्तिर फर्केर जब म हेर्छु, तब धेरै थोक पाएको पनि छु, केही थोक गुमाएको पनि छु। तर जे पाएँ, त्यसले गुमाएका कुरालाई आफ्नो पाइतालामुनि किचेर राखेको छ।
वातावरण विज्ञानमा मास्टर्स डिग्री गरेपछि मेरा लागि समय तुसारो र ठिहीजस्तै बनेर आयो। पढाइ सकिनु, कलेज जीवनबाट मुक्त भएर करिअर बनाउनतिर लाग्नु आफैंमा राम्रो हो, तर त्यही समयमा मलाई दिग्दारीका बादलले घेरे।
करिब सय, डेढ सय संघ–संस्था, एनजिओ, आइएनजिओ आदिमा जागिरका लागि प्रयास गरेँ। मलाई अन्तर्वार्ताका लागि पनि कसैले लायक सम्झेनन्। आफ्ना अनगिन्ती प्रयासले लोप्पा खाइरहेको स्थितिमा म तनावपूर्ण माहौलमा दिनभरि घरमै झोक्राएर बस्थेँ।
तिनै दिनमा मलाई एउटा सोच आयो। लेख्थेँ त म सानैदेखि। कविताबाट सुरु गरेँ। त्यसपछि कथामा लागेँ। प्लस टु पढ्दादेखि मास्टर्स सक्दासम्म तेह्रवटा कथा लेखिसकेको रहेछु। तिनै कथा छाप्ने अठोट पलायो। सर्वप्रथम त मैले एउटा साइबर पसलबाट कम्प्युटर किबोर्डमा कुन नेपाली अक्षर कहाँ हुन्छ भनी सिकाउने फोटोकपी लिएर आएँ र आफैं नेपाली टाइप सिकेँ।
सुरुमा नाउँ लेख्दा मात्र पनि अप्ठेरो भयो, विस्तारै बानी पर्दै गयो। एक पन्ना टाइप हुन तीन दिन लाग्यो। तै दुई–तीन महिना लगाएर मैले तेह्रवटा कथा आफैं टाइप गरेँ। बेरोजगारीको अत्यासलाग्दो समयका बीचमा यो कामले मलाई बिछट्टै आनन्द दिलायो।
टाइप त जानियो, अब किताब छाप्ने कसरी?
नेपाली साहित्य क्षेत्रमा सात पुस्ता माथिदेखि सम्झेर ल्याउँदा मेरो कोही छैन। कतै कसैलाई चिनेको छैन। कसलाई भन्ने? कसलाई गुहार्ने? प्रकाशक को? प्रकाशकसम्म कसरी पुग्ने? केही ज्ञान छैन।
तिनै दिनमा कृष्ण अविरल दाइसित चिनजान भो। मैले टाइप गरेका कथा उहाँलाई देखाउँदा आरिसलाग्दो कथा भनेर पछि भूमिकासम्म लेखिदिनुभो। त्यो थियो, कथासंग्रह ‘कथाकी पात्र’, जसले समीक्षक वर्गमा राम्रो प्रभाव पार्यो।
यसैबीच एक–दुई कलेजमा जागिर पाइसकेको थिएँ। ‘कथाकी पात्र’ को रेस्पोन्सले भने नेपालमा केही नयाँ खालको, विशेष युवा वर्गलाई लक्ष्य गरेर उपन्यासजस्तो लेखिनुपर्छ भन्ने लाग्यो। तर कथा के त?
यो विषयमा कुनै आइडिया थिएन। यसो गम्न थालेँ, ए बाबा धेरै पर किन जानु? आफ्नै टियू (त्रिभुवन विश्वविद्यालय) को कथा म किन नलेखौं? टियूमा बितेका मेरा एक–एक पल यादगार थिए। उसै पनि वातावरण विज्ञान पढेका हामीले फिल्ड ट्रिप भनेर धेरै घुम्नुपर्थ्यो। घुमफिर हुँदा, हाँसखेल, ठट्टा धेरै हुन्थ्यो। म क्लासको सबैभन्दा हँसाउने मान्छे। साथीहरू मेरो संगत गर्न लालायित हुन्थे। मैले नजिकबाट केही साथीहरूको प्रेम पनि नियालेँ। धेरै केटा साथीहरूमा अतीतको छवि देखेँ। धेरै केटी साथीहरूमा सायाको बिम्ब देखेँ। र, लेख्न थालेँ ‘समर लभ’।
‘समर लभ’ लेख्दा यसरी लेखेँ, मेरो हाँस्नु र रुनु ठीक मनसुनजस्तै भइदियो। मेरो मुडमा छिनमै बादल लाग्थ्यो अनि छिनमै घाम लाग्थ्यो। लेखक पात्रहरूसित यति भिज्दो रहेछ, मलाई थाहै थिएन।
त्यो चीजले काम गर्यो। धेरै पाठकहरू पनि भिजे मेरो कथासित। उनीहरूलाई पनि प्रेम भो साया र अतीतसित, मेरोजस्तै। लेखेको मैले नै थिएँ, तर अब त्यो कथा सबै माया गर्ने पाठकहरूको भो।
कथा अधुरो थियो। कथाले दोस्रो भागको माग गर्यो र मैले लेखेँ ‘साया’। वास्तवमा पाठकको माया, हौसला र मागले नै ‘साया’ लेखायो। मैले ताली पनि पाएँ, गाली पनि पाएँ। हरेक पुस्तक आउँदा त्यसको ताली र गाली दुवै पाउने सम्भावना रहन्छ। ‘साया’ ले हजारौं पाठकको माया पनि पायो र सल्लाह, सुझाव र चित्त नबुझेको प्रतिक्रिया पनि पायो। लेखक भएपछि दुmonsoonवै कुरालाई सहर्ष स्विकार गर्न सक्नुपर्छ जस्तो मलाई लाग्छ।
‘समर लभ’ लेख्दाको मेरा अनुभूति र अहिले ‘मनसुन’ लेखिसक्दाको अनुभूति फरक छन्। ‘समर लभ’ लेख्दा म केही थिइनँ। म कोही थिइनँ। निर्वन्ध भएर लेखेँ। तर एउटा कृति सफल भइसकेपछि लेखकलाई ठूलो प्रेसर पर्दो रहेछ। पाठकहरूले यति माथि उचालिदिनुहुन्छ, कहिलेकाहीँ त उचाइदेखि डरै लाग्छ। कसरी पाठकहरूको रुचिअनुसार लेख्ने? कसरी उहाँहरूको मन जित्ने? यो कुरामा दिमाग चिन्तित र मिहिनेती दुवै हुँदो रहेछ। चिन्ता र परिश्रमको सन्तुलन मिले त ठिकै छ, मिलेन भने फेरि अर्को तनाव।
‘मनसुन’ लेख्दा धेरै पीडा भो। हरेक वाक्य लेख्दा, यो वाक्य मेरा पाठकहरूलाई कस्तो लाग्ला? यो वाक्यले उहाँहरूलाई छुन्छ कि छुन्न? यो प्रसंगले पाठक हाँस्लान् कि नहाँस्लान्? यो पीडाले भावुक होलान् कि नहोलान्? सानोभन्दा सानो कुरा लेख्दा पाठकहरू झल्झली याद आइरहने। ‘समर लभ’ लेख्दा त्यस्तो थिएन। त्यतिबेला म पाठक होइन, भित्ताहरू सम्झन्थेँ। कुर्सीहरू सोच्थेँ। हावा, पानी, बादलसित इसारा गर्दै बोल्थेँ। किनकि, संवाद गर्न मसित पाठकहरूको अनुहार थिएन। लेख्ने कस्तो भन्नका लागि मसित ठोस आधार थिएन।
‘समर लभ’ पछि त कुरै अर्कै भयो। भनौं न एक किसिमले कायापलट नै भयो। मेरा पाठकहरूको संख्या देखेर म आफैँ आत्तिएँ। त्यसो त जे लेख्यो, जस्तो लेख्यो त्यसले सबैलाई छुन्छ वा छुनुपर्छ भन्ने छैन। तैपनि कसैको मनमा कुनै पनि खुनखुन नरहोस् भन्ने त सधैं सोचिन्छ। ‘समर लभ’ यति धेरै उचाइमा पुग्यो, ‘मनसुन’ कहाँ पुग्छ? ‘मनसुन’ को ठाउँ कहाँ छ? कुन रूपले पाठकलाई मन पर्छ? वा, मन पर्दैन। त्यो अझै हेर्न बाँकी छ।
चौथो पुस्तकसम्म आइपुग्दा लेखकका रुपमा मेरा चुनौती झन् धेरै थपिएजस्तो लाग्छ। पाठकको मन जित्न आफ्नो भाषा, शैलीलाई निरन्तर सुधार्दै लैजाने प्रयासमा छु। यसमा फेसबुक र ट्वीटरले धेरै कुरा सिकाएको छ। हरेक दिन मन छुने वाक्य लेख्नुपर्छ भनेर कोशिस गर्छु। त्यसले हजारौं पाठकको हृदय छुन्छ पनि। हरेक साता कान्तिपुर साप्ताहिकमा ‘युवा मन’ नाम गरेको स्तम्भ लेख्ने गरेको छु। त्यसको पहुँच पनि धेरै पाठकमा पुग्ने गरेको छ। मसित पाठकहरूले धेरै आशा गर्न थालेका छन्। उनीहरूलाई निराश गर्नुहुन्न भन्नेमा म सधैं सजग छु। ‘मनसुन’ ले पनि सबै पाठकको त ग्यारेन्टी लिन सक्तिनँ तर पाठकहरूको एउटा ठूलो समूहलाई पक्कै छुन्छ।
मलाई समीक्षकहरूसित डर लाग्दैन। मेरा पुस्तकहरूको समीक्षा हुन्छन् या हुन्नन् म चासो पनि राख्दिनँ। म मेरा पाठकहरूलाई नै समीक्षक ठान्ने गरेको छु। मेरा पाठकहरूको मनमा कपट हुन्न। उनीहरूलाई मलाई उचाल्नु या पछार्नु छैन। उनीहरू कुनै गुटका हुन्नन्। उपगुटका हुन्नन्। मेरो रचनाको ऐना हुन् मेरा पाठकहरू। जे लेख्छु, जस्तो लेख्छु, न उचाल्ने गरी, न पछार्ने गरी ठ्याक्कै भनिदिन्छ। मलाई त्यो एकदमै प्रिय लाग्छ। चोखो लाग्छ। त्यसैले म पक्कै चासो राख्छु मेरा प्रिय पाठकहरूको प्रतिक्रिया। मलाई पूरै सरोकार छ मेरा पाठकहरू मेरो पुस्तकको विषयमा के भन्छन्। उनीहरूको चित्त बुझाइरहन पाउँ। मलाई अर्थोक केही चाहिन्न।
म प्रेम लेख्ने मान्छे, मलाई पाठकहरूकै प्रेम सबैभन्दा ठूलो कुरा लाग्छ।

http://setopati.com/blog/53625/

Posted in Media Coverage.