मानसिक रोगी

साथीहरूको भीडमा एक जना यस्ता साथी छन्, जो विचित्रै छन् ।
एक दिन हिँड्दाहिँड्दै बाटोमा अकस्मात् उनी भेटिए । मुहारमा हाँसो, शरीरमा अलौकिक स्फूर्ति देखेर यो अनुमान गर्न समय लागेन कि ती मित्र धेरै नै खुसी छन् । ‘म एकदमै खुसी छु,’ हात मिलाएर हालखबर सम्म साटासाट गर्न पाएका थिएनौँ, मित्रले यसरी खुसी प्रकट गरे ।
मित्रको खुसीसम्म सर्न बेर लागेन । जो–कोही पनि खुसी हुँदा त्यसको असर आफूसम्म पनि परिहाल्छ । मित्र खुसी हुनुले मलाई खुसी बनाइहाल्यो ।
‘ल बधाई छ ।’ मित्रलाई बधाई दिन पनि विलम्ब गरिनँ । ‘धन्यवाद ।’ मित्रले धन्यवाद यसरी भने मानौं उनले ठूलै उपलब्धि हासिल गरेका छन् । मानौं ठूलै युद्ध जितेका छन् । ठूलै पदक पाएका छन् ।
अनि म कसरी नसोधी बस्न सक्थेँ कि मित्र के कारणले खुसी छन् ? सोधिहालेँ, ‘के म तिम्रो खुसीको कारण जान्न सक्छु ?’
‘पक्कै पनि मेरा मित्र,’ उनले गालामा बेग्लै चमक ल्याउँदै हँसिलो मुहारका साथ भने, ‘म यस कारणले खुसी छु, किनभने मेरो एक जना दुस्मन दु:खमा छ । त्यो तेजेन्द्र भन्ने छ नि, त्यसको नोकरी खुस्केछ ।’

लौ ! यो के ? हल्काफुल्का कुरा काट्ने बानी यसको वर्षौंदेखि थियो, यो स्तरसम्मको थियो भन्ने मलाई थाहा थिएन ।

व्यर्थै खुसी भइएछ । व्यर्थै बधाई दिइएछ । एक मनले त लाग्यो, यो मोरासँग व्यर्थै मित्रता गाँसिएछ । त्यो तेजेन्द्र भन्ने मान्छेलाई म पनि चिन्थेँ । ठीकै थियो । त्यसो त मलाई ठीकै लाग्ने मान्छे कसैको दुस्मन हुनु हुन्न भन्ने कहाँ लेख्या छ र ? तेजेन्द्रका तीन–तीन जना छोराछोरी थिए तर त्यो बिचरोको बिचल्लीमा यो साथी रमाइरहेको थियो । किन–किन यो कुरा चित्तले पटक्कै स्वीकारेन ।
०००

तिनै मित्र केही महिनापछि भेटिए । यसपालि उनको अनुहारको चमक उडेको थियो । ओठमा हाँसो थिएन, शरीरमा स्फूर्ति थिएन । उदास उदास देखिन्थे ।

किन–किन तिनको अनुहार देखेर माया लाग्यो । दु:ख लाग्यो । सोधेँ, ‘के भो मित्र ? किन यस्तो मुहार ?’

मित्रले उदासीका साथ भने, ‘म बडो दु:खमा छु ।’

‘के भो मित्र?’ उनको दु:ख के हो ? जान्न म अधैर्य भएँ ।

‘त्यो तेजेन्द्रेले अर्को राम्रो नोकरी पायो ।’ अघिल्लो भेटमा तेजेन्द्रको नोकरी खुस्किँदा रमाएकोमा जुन आश्चर्य मलाई लागेको थियो अहिलेको भेटमा आश्चर्य चार गुना बढी भएको थियो । यतिसम्म पनि कोही हुन्छ र ?

ती मित्रसित छुटिने बेला भो । बेला भो के भनौँ ? मलाई उनीसँग थप समय बिताइरहन मन लागेन । भनेँ, ‘अब जान्छु मित्र म ।’
उनले सोधे, ‘कहाँ जान्छौ ?’

मैले दृढ हुँदै भनेँ, ‘तेजन्द्रकहाँ । उसलाई बधाइदिनु पर्‍यो नि !’
ऊ झल्याँस्स भएझैँ देखियो । मैले थपेँ, ‘अनि तिमी यता यसरी दु:खी छौ भन्ने कुरा पनि उसलाई सुनाइदिनुपर्‍यो ।’

ऊ अवाक् भएर मतिर हेरिरहेको थियो । मैले निरन्तरता दिएँ, ‘अब डब्बल खुसी हुने भए तेजेन्द्र । एक, उनको आफ्नै खुसीका कारण । दुई, तिम्रो दु:खको कारण ।’
यति भनेर उनको स्पष्टीकरण वा जवाफ नपर्खी सरासर हिँडे ।
०००

अरूको दु:खमा रमाएर खुसी हुनु पनि खुसी हो र ? जाबो एउटा खुसीका लागि कसैको दु:ख कुरेर बस्छ भने, बुझे हुन्छ त्यो मान्छे मानसिक रोगी हो । यो साथी त्यस्तै थियो । जो आफूमा खुसी खोज्दैन, जो अरूको दु:खमा खुसी खोज्छ अनि अरूको खुसीमा दु:खी हुन्छ । यस्तो मान्छे वास्तवमै मानसिक रोगी हो ।

(कान्तिपुर साप्ताहिक प्रकाशित: जेष्ठ ३२, २०७३)

http://saptahik.ekantipur.com/news/2016-06-14/20160614135230.html

Posted in blog(fp).