‘मनसुन’ लेख्दाको सकस

सुबिन भट्टराई

सधैँ पहिले पहिले कथा फुर्थ्यो । म कथा लेख्थेँ । कथा लेखिसकेपछि शीर्षक जुराउन मलाई कन्नुपथ्र्यो । ‘कथाकी पात्र’मा त्यस्तै समस्या भो । संग्रह तयार भइसक्यो, शीर्षक छैन । किताबको लेआउट, डिजाइन भइसक्दासम्म किताबको नाम के राख्ने भन्ने टुंगो लागिसक्या थिएन । अन्त्यमा, बल्ल तल्ल नाउँ जु¥यो– ‘कथाकी पात्र’ । संग्रहभित्रकै एउटा कथालाई लिएर शीर्षक जुराइयो ।
दोस्रो पुस्तक ‘समर लभ’मा त्यस्तै । कथा लेखिसकियो । अनेक नाउँले न्वारन गर्न
खोजियो, केही चित्त बुझेन । अन्त्यमा प्रकाशक अजित बरालले न्वारन गरिदिए ‘समर लभ’ ।
तेस्रो पुस्तक ‘साया’लाई पाठकहरूले ‘समर लभ २’ भनेर नामाकरण गरिदिएका थिए । तर, अन्त्यमा उपन्यासकै नायिकाको नाउँबाट किताबको नाम जुराइयो ।
अब चौथो किताबमा आऊँ । यसपटक चाहिँ अचम्मै भयो । सबैभन्दा पहिले शीर्षक जुर्‍यो । बरु कथा चाहिँ के लेख्ने भन्नेमा टुंगो लागिसक्या थिएन । तर, नाम सुरुमै लेखियो । किनकिन यो नाम नै मलाई गज्जब लाग्यो । खाँदा, बस्दा, उठ्दा, डुल्दा जे ग
र्दा पनि ‘मनसुन… मनसुन’ भनेर दिमागमा आइरहने ।एक लाइन कथा त तयार थियो तर कथाको अन्त्य मसित थिएन । करिब डेढ वर्षअघि मैले लेख्न सुरु गरेको थिएँ । त्यो भनेको फागुन महिना हुँदो हो । भूकम्प नजाँदै । दुई–तीन हजार शब्दमात्र लेख्न भ्याइसक्या थिएँ । चैत लाग्यो । अनि रमाइलो कुरा के भने वैशाखमा म बिहे गर्दैथेँ । मन लेखाइमा पूरै लागेन । मन हुनेवाला श्रीमतीसित संवादमा ज्यादा केन्द्रित हुन लाग्यो । वैशाख १७ गते मेरो बिहे थियो, बाह्रै गते भूकम्प गइदियो । अब त्यो भूकम्पको इतिहास खोतल्न नजाऊँ । जसरी तसरी १७ गते बिहे भयो । उता ‘मनसुन’ लेख्दै छु, लेख्नुपर्छ भन्ने कुराले बेला–बेलामा नचिमोट्ने होइन । तर, विवाहित जीवनको सुख बिर्सेर ? होइन । मनसुन लेखिँदै गर्छ भन्ने भो । बिहेको एक–दुई महिना फेरि केही हजार शब्द थपिए । अनि फेरि एकमहिने युरोप टिपले लेखाइ बिथोल्यो । नेपाल फर्किएलगत्तै नाकाबन्दी । त्यसले पनि मुड ठीक भएन । जतिखेर पनि भारतसित रिसमात्र उठिरहने । लेख्नतिर त दिमागै गएन । जसै नाकाबन्दी खुल्यो, लेखाइको रफ्तार बढाएँ र चैतमा पहिलो ड्राफ्ट सकाएँ ।
त्यो पढियो । करिब ७० हजार शब्दको भयो । पढेँ । अलिक बोझिलो भयो कि भन्ने लाग्यो । साथीहरूलाई पढाएँ । केहीले राम्रो छ पनि भने । केहीले अल्छी लाग्यो भने । प्रकाशकहरुले पनि अलिक बोझिल भयो भने । मन खिन्न भो । यत्रो मेहनत स्वाहा भएझैँ लाग्यो ।
अनि त्यसपछि त्यो किताबको कायापलट गरियो । दिनदिनै परिमार्जन गर्दै गइयो । कथा नै नयाँ लाग्दै जान थाल्यो । हजारौँ शब्द फालिए । हजारौँ शब्द भित्रिए । पात्र, प्लट, परिवेश परिवर्तन भइरहे । यसो भने भो– पहिलो ड्राफ्टमा भएका बोसोहरू सप्पै झिकेर फालियो । फेरि साथीहरूलाई पढाइयो । यसपटक राम्रो भो भने । अनि यसपटक अलिक युवा खालका पाठकहरू खोजेर उनीहरूलाई पढ्न दिइयो । सबैले रुचाए । किताब साँच्चै राम्रो भएछ भन्ने लाग्यो । प्रकाशकहरूबाट आएको प्रतिक्रिया पनि सुखद थियो । पात्रहरुको चरित्रचित्रण पनि फेरिँदै गयो । हरेकपटकको परिमार्जनमा पात्रका पेसा र स्वभाव नै बदलिँदै गए । तर, हरेक पटकको परिमार्जनमा त्रुटिहरू पनि बग्रेल्ती देखिन थाले ।
यसपटकको लेखाइमा लाग्यो– साँच्चै लेख्न गाह्रो हुँदो रहेछ । त्यसो त लेख्नु भनेको गाह्रो काम होइन । तर, पाठकहरूको मन मस्तिष्कमा घर बनाउने गरी लेख्नु भनेको चाहिँ निश्चय नै गाह्रो कुरा हो । मलाई लागिरहेछ– अब अर्को पुस्तक लेख्दा मलाई झनै गाह्रो हुनेछ । मैले त्यसमा झनै मेहनत गर्नेछु ।
हामीलाई असफलताले धेरै कुरा सिकाउँदो रहेछ । पहिलो ड्राफ्ट बोझिल भएपछि किन यस्तो भयो ? कसरी भयो ? के गर्दा राम्रो हुन्छ ? भन्नेमा निकै सोचियो । त्यो विषयलाई लिएर निकै संवेदनशील भइयो । र, त्यै कुराले सिकायो पनि ।

वैशाख देखि भदौसम्मै पुनर्लेखन भयो । दिन, रात, साँझ, बिहान केही भनिएन । धेरै नै मेहनत गरियो, त्यो पनि दुई जनाले । यसपटक मैले धेरै कुरा सिकें ।
‘समर लभ’ जस्तो हिट किताब पाठकमाझ दिइसकेपछि चुनौतीको अग्लोे पहाड थपिएको थियो । त्यो जसैतसै चढियो । म सोच्ने गर्छु– ‘कथाकी पात्र’ लेख्दा केही सकस परेन । ‘समर लभ’ एकदमै सजिलै लेखियो । ‘साया’मा अलिकता मेहनत बढी गरियो । ‘मनसुन’मा भने डरलाग्दो मेहनत गर्नुपर्‍यो ।
किन यस्तो भयो ?
अहिले सोचिल्याउँदा लाग्छ– सुरुमा चुनौतीका पहाड त के, सानो ढिस्को पनि थिएन, त्यसैले सजिलै लेखियो । जसै किताब र पाठकका संख्या बढ्दै जान थाले, राम्रो लेख्नुपर्छ भन्ने प्रेसरले पनि आफैँलाई पेल्दै लग्दो रहेछ । त्यसले चुनौतीका बडेमान पहाड अघिल्तिर तेर्सिँदै जाँदो रहेछ । र, हिजोभन्दा आज गाह्रो र आजभन्दा भोलि गाह्रो हुँदै जाने रहेछ ।
मलाई लाग्छ– हरेक लेखकसित यस्तै अनुभव हुन्छ ।

 

 

http://www.baahrakhari.com/news-details/5866/2016-09-17

Posted in blog(fp).