‘प्रेम के हो? मलाई थाहा छैन’

एक साँझ सुबिनलाई एक युवतीको यस्तो फोन आयो, ‘मैले मुसाको बिष ल्याएको छु। तपाईंसँग कुरा गर्ने अन्तिम दिन यही हो।’ सुबिन सम्झाउन खोज्दैथिए, फोन काटियो। कलब्याक गर्दा ‘स्विचअफ’ सुनियो।

सुबिनको जीवनमा पहिलोपटक यस्तो घटना घटेको थियो। त्यसैले उनी आफैँलाई सम्हाल्न गाह्रो परिरहेको थियो।

जतिपटक फोन गर्दा पनि स्विचअफ सुनिएपछि उनलाई रातभर छटपटि भयो। ‘भोलिपल्ट झिसमिसेमै पत्रिका किन्न निस्केँ,’ उनले भने, ‘बिष खाएर युवतीको मृत्यु’ भन्ने समाचार कतै छ कि भनेर सबै अखबार हेरेँ। तर, समाचार कतै थिएन।’

त्यो दिन पनि उनले छटपटीमै बिताए। फोन गरिरहे। अझै स्विचअफ थियो। सोचे, युवतीले पक्कै आत्महत्या गरी!

राति ११ बजे सुत्नुअघि फोन डायल गरे। लाग्यो र उठ्यो। सुबिनले सोध्नै परेन, युवती आफैँले भनिन्, ‘मर्न साह्रै गाह्रो हुँदो रै’छ।’

सुबिन लेखक भएपछि ‘फ्यान’ले आत्महत्या नै गर्छु भन्ने सुनेको त एउटा मात्र हो तर त्यस्ता थुप्रै समस्या सुनेका छन्। जसकै कारण ‘थाहै नपाई’ उनी मोटिभेटर बनेका छन्।

लेखनमा ‘युवा प्रेमको पर्याय’ बनेका सुबिन भट्टराईले पाठकबाट त्यस्ता समस्या सुन्छन्, ती प्रेम र रोजगारीसँग जोडिन्छन्।

सुबिनका पाठक ‘मनसुन’को प्रतीक्षामा छन्।

हामीसँग भेटिँदा सुबिनले सुरुमै मनसुनको कुरा झिके।

‘हिजो मात्रै मनसुनको ‘फर्ष्ट ड्राफ्ट’ सकियो।’ ज्यान हल्का भएजस्तै गरी उनी बोले, ‘भित्र काम गर्नु त धेरै छ। तर, जब ‘समाप्त’ भन्ने शब्द लेखिन्छ। त्यसपछिको मजा अर्कै हुँदो रहेछ।’

एउटा कथासंग्रह ‘कथाकी पात्र’ र दुईटा उपन्यास ‘समर लभ’ र ‘साया’ लेखेका सुबिनलाई सबैभन्दा बढी मजा कुनबाट मिल्यो होला त?

छोटा कथा लेखिरहे पनि एकैचोटी हजारौं शब्दको उपन्यास पहिलोपटक लेख्नुजत्तिको आनन्द केहीमा नहुने उनको अनुभूति छ। ‘वाह! मैले उपन्यास सकेँ भन्दाको आनन्द छुट्टै।’ उनले सुनाए, ‘अर्कोतिर राम्रो लेख्नुको आनन्द छुट्टै हुन्छ।’

जब भित्रैदेखि छोइएर लेखिन्छ तब सुबिनलाई ज्यानभरि काँडा उमि्रँदा रहेछन्।

समर लभलाई सिक्वेलको रुपमा जबर्जस्त लेखेको भन्ने आरोप खेपेका सुबिनले काँडा नै उमि्रनेगरी लेखेको समर लभ नै त होला नि? यस प्रश्नमा उनी अस्वीकृत सुनिए।

‘सायामा पनि उत्तिकै मजा लिएर लेखेको हुँ।’ उनले भने, ‘अझ भन्छु, साया लेखेको होइन लेखाइएको हो। तर, प्रकाशकले होइन, पाठकले हो। मलाई साया कमजोर कृति हो भन्ने लाग्दैन। लेखकको पहिलो प्रतिष्पर्धी आफैँ भएकाले दाँजिदो रहेछ। सायालाई समर लभसँग दाँजियो।’

उनको भनाइमा साया सार्बजनिक भएपछि उनलाई पछ्याउने पाठक नै बिभाजित भएका छन्। केहीले साया राम्रो भनेका छन् भने केहीले समर लभभन्दा ‘झुर’! उनको भोगाइमा साया पढेरै केही पाठक उनका ‘डाइहार्ट फ्यान’ भएका छन् भने केही हिजो समर लभ पढेर डाइहार्ट फ्यान भएकाहरु झन् बिच्किएका छन्। तर, बिच्किनेको संख्या न्यून रहेको उनको दाबी छ।

साया र समर लभबीचको मतान्तर छोड्दा निःसन्देह! उनी युवापुस्तामा चर्चित लेखक हुन्। फेसबुकमा उनी नेपाली लेखकमध्ये सबैभन्दा धेरै पछ्याइनेमा पर्छन्।

कसरी उनी यति चर्चित भए त?

ठोस रुपमा जम्मा दुईटा कारण छन्, ‘सपना’ र ‘लक्ष्य।’

जब उनले पहिलो कथासंग्रह ‘कथाकी पात्र’ निकाले, समीक्षकबाट मौखिकरुपमा राम्रै समीक्षा बटुलेका थिए। आफ्नो सिर्जना धेरैसम्म पुगोस्, पत्रपत्रिकामा समीक्षा आइदिओस् भन्ने चाहना सबै लेखकको हुन्छ। सुबिनको नहुने कुरै भएन।

किताब निकालिदिने प्रकाशकसँग पनि मिडियासँग बलियो सम्बन्ध थिएन। सुबिन नयाँ लेखक थिए, त्यसमाथि चाप्लुसी गर्न जान्दैनथे।

त्यसपछि केहीसँग समीक्षा कसरी लेखाउने भनेर सल्लाह मागे। सल्लाह दिनेले भन्थे, ‘समीक्षकलाई ख्वाईपिलाई गराउनुपर्छ। खल्तीमा केही नोट हालिदिनुपर्छ।’

उनले त्यसै गरे। तर, मिडियामा उनी छाइएनन्।

त्यतिबेला नेपालमा कुन पुस्तक कस्तो बर्गका लागि ठीक हो भनेर छुट्टिइसकेको थिएन। उनले बुझे, युवापुस्ता पुस्तकको ठूलो बजार हो। त्यसैले त्यही समूहलाई पक्डिनुपर्छ।

त्यही सोंचको आधारमा समर लभ जन्मियो। प्रकाशक अजित बरालको हातमा समर लभको पाण्डुलिपी पुग्यो। प्रकाशक बरालले मन पराए र पुस्तक छापे। सुबिनले सोचेजस्तै युवापुस्ताले साँच्चै मन पराए।

कोर्स बुक र छिटफुट साहित्यिक कृति मात्र पढिरहेकाको हात–हातमा समर लभ पुुग्यो। पाठकको छुट्टै ‘सर्कल’ तयार भयो। उनको लक्ष्य पुरा मात्र भएन उनकै भाषामा भन्दा नेपाली साहित्यमा ‘जनरा’ जन्मियो। अक्सर फिल्ममा प्रयोग हुने ‘जनरा’ शब्दलाई सुबिनले साहित्यमा भित्राए।

उनको सफलताको अर्को तत्व हो, सपना। समर लभ निस्कनुअघि सुबिन युवापुस्ताले पुस्तक मन पराउँछ भन्नेमा ढुक्क मात्र थिएनन्, समर लभबाट सपना नै बुनिसकेका थिए, समर लभ दस हजार प्रति बिक्छ। पछि त दसको तीन गुना बिकेको उनको दाबी छ।

समर लभको सफलतासँगै नेपाली साहित्यमा नयाँ बहस सुरु भयो। कतिले उनको पुस्तकले साहित्यको स्तरोन्नति नहुने तर्क गरे भने कतिले नेपालमा पठन संस्कृतिको अत्यन्तै खाँचो रहेको र सुबिनका पुस्तकले पठन संस्कृति बढाउने जिकिर गरे।

नेपाली साहित्यबजारमा हुने अनौपचारिक बहसमा पक्ष/बिपक्षमा समर लभ पर्न थालेपछि औपचारिक बहसमा पनि पाका साहित्यकारका दर्जामा निम्त्याइन थाले। त्यहाँ उनी युवापुस्ताले खोजिरहेको साहित्यकै वकालत गर्थे। बहसमा पाका साहित्यकारले पनि पठन संस्कृति बिकासका लागि सुुबिनको लेखनले ठूलो भूमिका खेलेको कुरा गर्थे।

पछिपछि सुबिनले बु‰न थाले, ती लेखकका जिब्रो त दुईटा रहेछन्। ‘लेखकहरुको त गुट हुँदो रहेछ।’ उनले भने, ‘चियाचौतारीमा देख्दा यही समूहको जस्तो लागेपनि पछि ती एकअर्काका कुरा काट्थे। अझ म त कुनै गुटको छैन। उनीहरुले मलाई लेखक नै मान्दैनन्। कतिले त समर लेखेकै कारण व्यक्तिगत रिसइबी साँधेका छन्। हिजो कथाकी पात्र लेखेपछि ‘किप राइटिङ’ भन्नेहरु समर लभ लेखेपछि ‘चिप राइटिङ’ भन्न थाले। कतिले त मेरा उपन्यासलाई ‘स्ट्रिट लिटरेचर’ भन्थे।’

साहित्यमा समाजको पराबर्तन आउनुपर्‍यो भन्न बहस चलिरहँदा तपाईंको उपन्यासमा समाजका बिषयबस्तु नआएर होला नि त?

‘के प्रेम समाजको विषय होइन?’ उनले प्रतिप्रश्न गरे, ‘युवापुस्ता जो प्रेमकै कारण डिप्रेसनमा पुग्छन् भने योजत्तिको भयानक कुरा के हुन सक्छ। अझ जो साहित्य पढ्दा नबुझेर पढ्नै छोडेका छन्, तिनलाई पढ्ने बानी बसाल्नुले अर्थ राख्दैन?’

‘म त भन्न सक्छु, म ठूला लेखकसँग प्रतिष्पर्धा नै गरेर आएको हुँँ। बजार भनेको प्रतिष्पर्धा होइन र?’

यति धेरै आलोचना खेप्दा सुबिनलाई सुरुसुरुमा कस्तो लाग्थ्यो होला त?

‘आलोचना त अहिले पनि उत्तिकै खेपेको छु। लेखकमा सबैभन्दा बढी आलोचित म नै हुँजस्तो लाग्छ। पहिलेपहिले त सामाजिक सञ्जालमा एक पेज लामो गाली लेखेर कमेन्ट गरुँजस्तो लाग्थ्यो। आलोचना गरिरहेको मान्छे भेटियो भने कोपरुँजस्तो लाग्थ्यो। तर, अरुहरु लेखकलाई हेर्थें र शान्त हुन्थेँ। अहिले त ‘डाइजेस्ट पावर’ बढेको छ।’

आलोचनै आलोचनाबीच उनका किताब छोटो समयमा बिक्रि भएका नेपाली साहित्यिक कृतिमा परेपनि आफ्नै कारणले पाठक बृद्धि भइरहेको जस लिन चाहँदैनन्। उनी यतिचाहिँ भन्छन्, ‘समर लभले युवापुस्तामा रिडिङ कल्चर बढाएकै हो। किनकि समर लभ पढेपछि यत्तिकै थन्किएर बसेका पाठक कमै छन्।’

उनी यसको पहिलो जस नारायण वाग्लेको ‘पल्पसा क्याफे’लाई दिन्छन्। त्यसपछि कृष्ण अविरलको ‘रक्तकुण्ड’लाई। यी कृतिसहित उनको समर लभ र अन्य केही पुस्तकका कारण लेखकमा ग्ल्यामरस बढाएको उनको बुझाइ छ।

‘अहिले किताबको कभर, लेखककै फोटोकै लागि हजारौं खर्च गरिन्छ,’ उनले भने, ‘लेखकको भ्यालु बढेको छ। अहिले त लेखक पनि फिल्म सेलिब्रेटीजस्ता भइसके, फोटो खिच्ने लामो लाइन देखिन्छ। मलाई त कहीँकहीँ फोटो खिच्नै आधा घण्टा छुट्याउनुपर्ने हुन्छ। अरु लेखकका तुलनामा मलाई यस्तो बढी किन हुन्छ भने मेरा पाठक साहित्यका बहससँग खासै सरोकार राख्दैनन्। उनीहरु अधिकांशलाई लेखक भेट्न र फोटो खिच्न पाए पुग्यो।’ यसकै कारण उनलाई चिटिक्क भएर हिँड्नुपर्ने दबाव बढेको रहेछ।

उनी यस्तो हुनुको श्रेय पछिल्लो समय बजारमा आएका नयाँ प्रकाशकलाई जाने बताउँछन्।

प्रकाशक, लेखक, लेखन र पुस्तकको ‘ग्ल्यामरस’ ले युवापुस्तामा पाठक त बढे तर सुबिन आफूले स्थापित गरेको ‘जनरा’मा कडा प्रतिष्पर्धी लेखक नआएको बताउँछन्। ‘समर लभ निस्किएपछि यस्तो लेखाइमा उपन्यासको बाढी नै आयो।’ उनले भने, ‘कति पाण्डुलिपि लिएर भूमिका लेखाई माग्न आउँथे। कतिको त बिमोचन आफैंले गरेको छु। अधिकांशको समस्या के हो भने ती सबै समर लभकै शैलीमा छन्, उस्तै विषय उस्तै शैली।

साहित्यकार अमर न्यौपाने बेलाबेला उदाहरण दिँदै भन्छन्, ‘पहिलोपटक प्लेन बनाउने वैज्ञानिक हो, दोस्रोपटक त्यस्तै प्लेन बनाउने मिस्त्री हो।’ सुबिन अमरकै उदाहरण उद्धृत गर्दै त्यस्ता लेखकलाई ‘मिस्त्री लेखक’ भएको बताउँछन्।

सुबिन चाहन्छन्, फरक फरक बर्गलाई फिट हुने किताब निस्किऊन्। उनलाई लाग्छ, साहित्य र पाठकबीच ठूलो खाडल छ। ‘जस्तो कि सम्भ्रान्त बर्गका कुरा लेखिएका छैनन्।’ उनले भने, ‘चिल्लो कारमा सुट लगाएर हिँड्ने मान्छेको पीडा लेखिएका छैनन्। अपराध साहित्य, जासुसी उपन्यास, बाल साहित्यमा पनि प्रयोग भएका छैनन्। प्रत्येकले आफ्नो रुचीअनुसारको पुस्तक पढ्न पाउने हो भने साहित्य धनी हुन्छ।’

……..

सुबिनले साहित्य लेखेपछि साहित्यक्षेत्र जसरी तर्कबितर्कमा उत्रियो, त्यति नै उनको मन हुँडलिएको थियो। कथाकी पात्र लेख्दा मौखिक रुपमा राम्रो समीक्षा त पाएका थिए तर पत्रपत्रिकाले महत्व नदिएपछि उनले युवापुस्तालाई लक्षित गर्दै समर लभ लेखेका थिए, ता कि मिडियाको सहयोग पनि खासै चाहिँदैन।

तर, त्यसपछि आएका प्रतिक्रिया उनका लागि ठूलो चुनौति बनेको थियो। उनका लागि दुईटा बाटो थियो, कि गम्भिर लेख्ने, कि युवापुस्ताकै रोजाईलाई क्यास गर्दै जाने।

‘त्यो समय उनका लागि ठूलो चुनौति थियो किनकि एकातिर उनको उपन्यास पढेर साहित्य पढ्न सुरु गरेकाका सोच दोस्रो उपन्याससम्म आइपुग्दा अलि बिकसित भइसकेको हुन्छ,’ उनले भने, ‘तिनलाई पछ्याउन थाल्दा बिल्कुलै नयाँ पाठकलाई अलि गाह्रो लाग्न सक्छ। अर्कोतिर मलाई लेखक नमान्ने जमात छँदै थियो।’

उनले आफूलाई लेखक नमान्ने जमातलाई वास्तै गरेनन्। र, दुबैथरिका पाठकलाई हुनेगरी साया तयार पारे। साया बढी आलोचित हुनुको जबाफ पनि दिन्छन्, ‘पहिलो पढेका धेरैले मन पराएको पाएँ। किनकि तिनीहरुको सोच अलि बिकसित भएको थियो। विशेषतः युवतीहरुले मन पराए। युवाका तुलनामा युवतीहरु अलि बढी संवेदनसील छन्।’

सुबिनलाई अहिलेको समय पनि उत्तिकै चुनौतिपुर्ण छ। बिपी कोइरालाबाट साहित्य पढ्न थालेका सुबिन आफ्नो लेखाईमा थोरै दर्शन, मनोविज्ञानका कुरा ल्याउन चाहन्छन्। तर, आफ्ना पाठकले नबु‰लान् भन्ने चिन्ता पनि छ।

त्यसैले उनी मुल बिषयबस्तुमा प्रेमलाई राख्न छोडेर अन्यमा फड्को मारिहाल्न चाहँदैनन्। र, आफ्नै लेख पढेर गम्भिर साहित्यतिर लम्किरहेका पाठक छोड्न पनि चाहँदैनन्। त्यसैले उनी मझधारको बाटो रोज्ने पक्षमा छन्।

‘सुबिनलाई समर लभ र सायाबाट चिनेपनि मैले समाजका अरु बिषयबस्तुमाथि पनि लेखिरहेकै छु। विशेषतः त्यो कथामा आएको हो। त्यसैले सुबिनले अरु लेख्न जान्दैन भन्ने आरोप गलत हो। समाजका अन्य गम्भिर विषयमा मेरो अभ्यास भइरहेको छ। आफ्नो जीवन लेखनमै समर्पित गरिसकेकाले अब आउने उपन्यासमा बिपरीत लिंगीको शरीरबीचको प्रेम मात्र नभएर जीवन प्रेमका कुरा पनि आउँछन्। मैले लेख्न चाहेको दर्शनका कुरा बिस्तारै आउनेछन्।’

सुबिनमा यस्तो सोच आउनुमा पाठकसँगको निकटता हो भन्छन्। समर लभबाट जब उनी युवापुस्ताको मनपर्ने लेखक बने त्यही बेलादेखि नै उनले पाठकसँग अन्तर्क्रिया सुरु गरेका थिए।

सामाजिक सञ्जालमा सक्रिय रहन थालेपछि धेरैले उनीसँग प्रेमसँग जोडिएका समस्यालाई लिएर प्रश्न गर्थे। कतिले भेटेरै प्रेमले निम्त्याएको समस्या लिएर आउँथे। धेरैजसो युवा विदेश जाउँ कि यतै बसौं कि भन्ने दोधारमा भएका भेटिन्थे। उनीहरु सुबिनसँग करियरको बारेमा चिन्ता पेश गर्थे। कति विदेश पुगेकाहरु स्यालुट गरेका फोटो पठाउँथे र ड्युटी जान लागेको बताउँथे। कति तपाईंलाई मात्र सुनाएको भन्दै नितान्त निजी कुरा सेयर गर्थे।

उनले भने, ‘पाठकले लेखकबाट आफ्नो कुरा पनि लेखनमा कथामा आओस् भन्ने चाहँदो रहेछ। सुरुसुरुमा दिक्क लागेपनि सुन्थेँ। लेखनको सा्रेतका लागि पनि सुन्थेँ। सल्लाह–सुझाव दिन्थेँ।’

प्रश्न सुनेर सल्लाह दिँदादिँदै उनी मोटिभेटर बने। अहिले उनी धेरैतिरबाट माग गरिने मोटिभेटरमा पर्छन्। ‘म मोटिभेटर बनेको होइन,’ उनले सुनाए, ‘बनाइएको हो।’

धेरैको प्रश्न सुन्दा र सल्लाह दिँदा उनी आफ्ना पनि स्तरबृद्धि भएको ठान्छन्। धेरैका समस्या सुनेकै कारण दिमागमा बिषयहरु नाचिरहँदा रहेछन्। त्यसले लेखिरहन प्रेरित गरेको रहेछ।

उनी अधिकांशसँग समस्या सुन्छन्, सल्लाह दिन्छन् र लेख्छन्। तर, उनलाई लाग्दो रहेछ, ‘अरुलाई सम्झाउन सजिलो हुने रहेछ। प्रेमकै बारेमा धेरै सल्लाह दिएँ हुँला तर खास मलाई नै प्रेम के हो थाहा छैन।’

त्यसो त उनी लेखक भएकै कारण मात्र मोटिभेटर बनेका होइनन्। कुनै समय वातावरणविद् बन्ने सपना पालेर थुप्रै अफिसमा बायोडाटा बुझाउँदा पनि जागिर नपाउँदा ‘फ्रस्टेड’ हुँदा साँचिएका अनुभबलाई पनि सुबिनले अरुलाई सम्झाउने साधन बनाएका रहेछन्।

‘फ्रस्टेड हुनु आवश्यक छ’ उनले भने, ‘मान्छेको जीवन जीवित मुटुको इसिजी गरेजस्तै हो, जहाँ रेखाहरु समानान्तर हुदैनन्।’

प्रकाशित मिति: सोमबार, चैत्र १५, २०७२

http://kala.setopati.com/news/3250/

Posted in Media Coverage.