प्रशंशा

संसारमा सबै मान्छे प्रशंशाको भोको हुन्छ । मेरा मन पर्ने लेखक धुरवचन्द्र गौतम लेख्नुहुन्छ, ‘यहाँसम्म कि चितामा सुतेको मान्छेलाई समेत वाह ! क्या सानदार मृत्यु मर्दै हुनुहुन्छ भनेर भन्यो भने जुरुक्क उठेर मुस्कुराउँदै धन्यवाद भन्छ रे ।’
मान्छेलाई गाँस, बाँस र कपासको आधारभूत आवश्यकतापछि अर्को आवश्यक केही चीज छ भने त्यो सायद प्रशंसा नै हुँदो हो । जतिसुकै अफ्टेरोमा ऊ होस्, जतिसुकै विषम परिस्थितहरुले ऊ घेरिएको होस्, उसलाई एउटा झीनो तारीफ गरिदियो भने मुस्कुराउँछ । उसको हृदय पुलकित हुन्छ । नपत्याएको लवजमा शंका व्यक्त गर्दै ‘हो र ?’ भन्दै लजाउँदै खुसीले मखलेल हुन्छ । चाहे त्यो प्रशंशामा सत्यको मात्रा बढी होस् या झूटको मात्रा बढी होस् ।
अरुले जस्तो धारणा राखून्, मलाई भने प्रशंशा भन्ने चीज बडो मन पर्छ । चाहे त्यो कसैको नाउँमा बर्षाउन होस् चाहे आफैँले सहर्ष पाउन होस् । प्रशंशामा सकारात्मक तरङ्ग हुन्छन् जस्तो लाग्छ । यसले मान्छेमा बेग्लै किसिमको उर्जा भरिदिन्छ ।
यो कुरालाई मैले नजीकबाट धेरैपटक नियाल्ने प्रयास गरेको छु ।
एकपटक यस्तो भयो । एउटा मानिस थियो, जो मलाई असाध्यै घृणा गर्ने गथ्र्यो । ऊसले आफूभित्र मप्रति भएको घृणाको बमन मसित प्रत्यक्ष भन्दा पनि परोक्षमा बढी गर्ने गथ्र्यो । प्रत्यक्ष ऊसित मेरो त्यति धेरै भेट भएको होइन । उसको केही बिगारिदिएको होइन । घृणा गर्नुपर्ने त्यस्तो कारण, कमसेकम म चाहिँ केही देख्दिनथेँ ।
एकदिन मेरो भेट तिनै व्यक्तिसित हुन पुग्यो । म सन्त थिइँन कि उसलाई देख्दा रिस नउठ्ने होस् । रिसाएँ मनमनै । आँखा जुधेपछि रिसमै पनि म मुस्कुराएँछु । ऊ नमुस्कुराइ रहन सकेन । ऊ मुस्कुराएपछि मेरा रिस केही शान्त भयो । ऊसित बोल्ने मूड भयो । बोल्दा उसको केही प्रशंशा गरिदिएँ । प्रशंशा झूटो थिएन । ऊसित भएका केही राम्रा गूणहरुलाई घुमाइफिराइ अलिकति बढाइचढाइ उसैको अगाडी भन्दिरहेको थिएँ, ऊ एकदमै नतमस्तक भयो । गाला गुलाबी बनायो । उसको ओठको पिङ्गमा मुस्कान झुल्न थाल्यो । पाँच सात पटक ‘धन्यवाद’ भन्यो । कफीका लागि आफ्नो घरमा मलाई आमन्त्रण ग¥यो । मैले जति नै नगरेपनि केही थोरै प्रशंशा उसले मेरो पनि ग¥यो । र त्यो दिनबाट त्यो व्यक्तिको हृदयबाट मप्रतिको घृणा समाप्त भयो ।
प्रशंशामा कति धेरै शक्ति हुँदोरहेछ भनेर मैले त्यसदिन थाहा पाएँ ।
हरेक मानिसमा केही सद्गूण पनि हुन्छन् र केही दुर्गुण पनि हुन्छन् । सरल भाषामा भन्ने हो भने कुनै पनि मानिसमा भएको खूबीलाई उधिनेर उसैका अघिल्तिर उसलाई जानकारी गरिदिनु नै प्रशंशा हो । यसले माहौल बडो सुन्दर हुन्छ । प्रशंशित हुने त खुसी भइ नै हाल्ने भो । प्रशंशा गर्ने पनि उसको खुसी देखेर खुसी हुन पुग्छ । प्रशंशाले पेट त भरिँदैन तर आँतलाई भने तृप्त बनाउँछ । कहिलेकाँही त केही मानिस बिहान पाएको एक प्रशंशाले सिँगो दिन खुसी भएर बस्न सक्छ ।
तर प्रशंशा भन्ने चीज औषधीको मात्रा जस्तै हो । अलिकति मात्र पनिकम वा बढी भो भने त्यहाँ औषधीका असर होइन प्रतिअसर बढी भेटिन्छन् । कसैलाई प्रशंशा गर्दा त्यति नै गर्नुस् जति प्रशंशाको भारी ऊ बोक्न सक्छ । कसैको क्षमताभन्दा अघि बढेर प्रशंशाको भारी बोकाउन खोज्नुभयो भने त्यसले सम्बन्ध नै ढलमलाउन सक्छ । र कसैको प्रशंशा आफ्नो व्यक्तिगत स्वार्थ पूर्ती गर्नका लागि गरिरहनुभएको छ भने त्यो प्रशंशा कम चाप्लुसी वा चाकडी बढी ठहर्नेछ । हामीकहाँ कुनै काम निप्ट्याउन वा केही स्वार्थ पूर्ती गर्नका लागि प्रशंशा गर्ने प्रचलन छ । कसैको प्रशंशा गर्नलाई कुनै अवसर किन कुर्ने ? कोही मान्छे राम्रो छ भने ऊ सधैँ राम्रो छ । भनिदिनुस् न नहिच्किचाइ । जसको जे कुरा तपाइँलाई मन पर्छ, त्यो उसलाई भनिदिनुस् निर्धक्क भएर । र कहिलेकाँही उसको आलोचक पनि बनिदिनुस् । किनकि प्रशंशा गर्नेलाई हक हुन्छ कसैको केही मन नपरेको खण्डमा आलोचना गर्न वा सुझाव दिन । माया गर्नेलाई नै हक हुन्छ कहिलेकाहीँ गाली पनि गर्न ।
मानिसहरु खुसी हुनलाई अनेक तरीकाहरु खोजिरहेका छन् । यस्ता धेरै तरीका मध्ये कसैको प्रशंशा गर्नु पनि एउटा महत्वपूर्ण बिधि हो । यो राम्रो थेरापी हो खुसी हुने । किनकि अरुलाई खुसी बनाउनु भनेको आफैँ खुसी हुनु हो ।

प्रकाशित : कान्तिपुर साप्ताहिक २०७४ फाल्गुन ११ गते

तस्बिर: गुगल

Posted in blog(fp).