परिवर्तनका कुरा

 

त्यहाँ जानु छैन, किनकि अहिलेसम्म गएको छैन ।
त्यो खानु छैन, किनकि अहिलेसम्म खाएको छैन ।
त्यसो गर्नु छैन, किनकि अहिलेसम्म गरेको छैन ।

यसो भन्ने हामी कति छौँ । हामी कहिल्यै नबोलेको मान्छेसित बोल्न हिच्किचाउँछौँ । नयाँ भन्ने चीज हामीलाई बडो जोखिम लाग्छ । कतै फसाउने हो कि । कतै झुक्क्याउने पो हो कि ! नयाँ बाटो हिँड्दैनौँ । लाग्छ, कतै हराइने पो हो कि !
सिनेमाको निर्देशक र निर्माता नयाँ कलाकारलाई लिएर काम गर्न डराउँछन्, कतै सिनेमालाई नै डुबाउने हो कि ! कुनै प्राइभेट कम्पनीको सिइओलाई सोध्नुस्, नयाँ कर्मचारी लिन किन हिच्किचाउँछन् ?
परिवर्तनको विपक्षमा कोही छैन तर नयाँ कुराको जोखिम लिने पक्षमा हरकोही छैन । हर पुराना चीजहरु कुनै बेला नयाँ थिए । हर नयाँ चीजहरु भोलीका पुराना चीजहरु हुनेछन् । पुरानो र नयाँ चीज भन्ने नै के रहेछ र ? समयको नदीमा मिसिदैँ जाने पानीका खोल्सा खोल्सी न हुन् ।
नयाँ चीजको खोजी नगर्ने हो भने, परिवर्तन कसरी सम्भव हुन्छ ? हाम्रा हजुरबुवाहरु पहाड छोडेर बसाइँ नसरेको भए, आज मधेश र काठमाण्डौँ यसरी भरिदैनथियो होला । रोजगारी र अध्ययनका लागि बिदेश जानेहरु पनि हुँदैनथिए होलान् । संसार यति सानो लाग्दै जाने थिएन होला । संसार यतिसाह्रो चलायमान पनि लाग्दैनथियो होला ।

जहाँ गइएको छैन, त्यहीँ जाने हो यहि कारणले कि त्यहाँ अहिलेसम्म गइएको छैन, त्यसैले जानै पर्छ । कमसेकम अनुभवका लागि ।
त्यो खाने हो (आफूलाई उचित लाग्छ भने), यहि कारणले कि त्यो खाइएको छैन, कस्तो होला त्यसको स्वाद । चिन्नलाई पनि खानै पर्छ ।
त्यो गर्नु पर्छ, कस्तो होला त्यो काम गर्दा (यदि आफूलाई त्यो काम ठीक लाग्छ भने), यहि कारणले कि नयाँ काम गर्दाको अनुभव कस्तो हुन्छ । यस्तैले खोज्न सिकाउँछ । ज्ञानको गोरेटोमा कुतुहलको टुकी बालेपछि संसार नै आएर प्रतिबिम्बित हुन्छ त्यहाँ ।
हामी चट्टान त होइनोँ, जो पहाडको भुँडीमा ढ्यास्स लेउ जमाएर, साह्रो न साह्रो, गहु्रँगो न गह्रुँगो भएर बस्न अभिसप्त छौँ । हामी त्यस्तो चङ्गा होइनौँ जसलाई तलबाट धागो छोडिदिए अगाडी बढ्छौँ र बेरिदिएँ पछाडी सर्छौ ।
‘टे«किङ्ग गर्न जाने हो ?’ एकदिन एउटा मित्रलाई अफर गरेँ ।
‘नाइँ । अहिलेसम्म गाछैन । के हुन्छ, कस्तो हुन्छ, नजाने,’ उनको ठाडो जवाफ पाएँ ।
अरे यार ! अहिलेसम्म गाछैनौ । त्यसैले जाऊ । अनुभव लिऊ । मन नपरे बरु त्यसपछि नजाऊ । कमसेकम अरुलाई यो त भन्न सक्छौ कि टे«किङ्ग जाँदा कस्तो अनुभव हुन्छ ? कमसेकम भोलीपर्सी, बुढेसकालमा यदि जाने इच्छा भयो तर जान समर्थ भएनौ भने आफैँलाई त जवाफ दिन सक्छौ ।
कतिपय सस्याना कुराहरुमा हामी यहाँ आफूलाई त परिवर्तन गर्न सक्दैनौँ, देस परिवर्तन गर्ने ठूल्ठूला कुरा गरिरहेका हुन्छौँ ।
हामीले बाँच्ने एउटा रुटिन बनाएका छौँ । त्यो रुटिन खल्बल्याउन हामी हतपत चाहन्नौँ । हामी एउटा पोखरीसरी स्थिर भएर बसेका छौँ, जहाँ कसैले ढुँगा हानिदिएको रुचाउन्नौँ । हामी तितिरबितर हुन चाहन्नौँ, हामी छरिन चाहन्नौँ, हामी खल्बलिन चाहन्नौँ, लडखराउन चाहन्नौँ, उफ्रिन चाहन्नौँ, थेचारिन चाहन्नौँ ।
तर परिवर्तन भनेकै यिनै हुन् । पहाडको भुँडी नफुटाइ हाम्रा पाइताला टेक्न मिल्ने गोरेटो पनि खनिन्न । कपडा कतै नच्याती, नउधारी लूगापनि सिलाउन मिल्दैन । गोडमेलै नगरी त बारीमा तरकारी पनि फल्दैन ।
परिवर्तन तबसम्म संभव छैन, थाहा पाउँदा पाउँदै कि त्यहाँ केही मिल्नेवाला छैन, त्यही बाटोमा हिँडिरहन्छौँ । परिवर्तन त्यो बेलामात्र संभव हुन्छ जुनबेला हामीभित्र टाँस्सिएका पुराना मान्यताका लेउहरु ताछेर मिल्काउँछौँ र बिचारका नयाँ प्रजातीलाई ठाउँ दिन्छौँ । परिवर्तन एक किसिमको क्रान्ति हो । एउटा रुटिन भत्काउन सक्नुपर्छ । बर्षोदेखिँ ओगटिरहेका अनुत्पादक र कुरुप बिचारहरुलाई मस्ष्तिकबाट मिल्काउने हिम्मत गर्न सक्नुपर्छ । तब एउटा खाली ठाउँको सिर्जना हुन्छ । हो त्यही खाली ठाउँलाई हामी चाहे अनुसारको आकार दिन सक्छौँ । त्यही खाली ठाउँमा हामी नयाँ बिचार, नयाँ योजना, नयाँ चीजको प्रयोग बिल्कुलै नयाँ ढँगले गर्न सक्छौँ ।
परिवर्तनको चाहना हामी धेरैजसोको मनमा छ । कमी छ त अलिकति आँट, अलिकति आत्मविश्वास, अलिकति अठोट र अलिकति जोखिम लिने साहसमात्र ।

 

 

प्रकासित: कान्तिपुर साप्ताहिक
२०७५ जेठ ११ गते
तस्बिर गुगल

 

 

 

 

Posted in blog(fp).