नभएपछि 

 

 

एउटा झोला हुने गथ्र्यो । जसलाई बोकेर जहीँत्यहीँ लगिन्थ्यो । लूगाफाटा, ब्रस, क्यामेरा, काइँयो, कपालमा लगाउने तेल, मुखमा लाउने क्रिम, चप्पल, आदि इत्यादी अटाइनअटाइ, कोचीकोची हुलिन्थ्यो । झोलाको भुँडी अघाएर टम्म फुल्थ्यो । ठाउँ ठाउँका सिलाइका धागाहरु रस्साकस्सी गर्दै गरेको अवस्थामा देखिन थाल्थे । यात्राबाट मसँगै थाकेर आउँथ्यो झोला पनि । म पल्टन्थेँ खाटमा । झोला फ्याँकिन्थ्यो अक्सर असरल्ले एउटा कुनोमा या झुण्डिन्थ्यो कहिले कुनै मरञ्च्याँसे किल्लोमा । धुलो टाँसिन्थ्यो झोलामा, टक्टक्याइँन । दाग लाग्थ्यो, धोइनँ । चेन बिग्रिन्थ्यो, अलिअलि बिग्रेकोलाई टेरिनँ, पुरै नबिग्रिऊञ्जेल बनाइँन । फित्ताका धागाहरु छेउबाट उक्किन थाले, मेलो नपाएर वा अल्छी वा यत्तिले काम चलिहाल्छ भन्ने ठानेर हतपत सिलाइँन । कुनै बेला त एक साइडमात्र भएपनि बोकेर हिँडे । धेरै दिन बेवास्ता गर्ने हुँदा कुनै कुनै बेला झोला खोतल्दा साङ्लाका बच्चाहरु पनि फुत्त निस्कन्थे । र, एकदिन झोला पुरै निकम्मै भएर निस्क्यो । जति धोएपनि कतिपय पुराना दागहरु थिए जो मेटिनै मानेनन् । कट्कटाउँदो घिनलाग्दा दागहरु । पटकपटकको सिलाइ प्रष्ट देखिने भएकाले झोलाको सौन्दर्य पनि क्षय भइसकेको थियो । एकदिन अचानकसित कतै हिँड्नु परेको थियो । भनेका बेला त्यही झोला पनि भेटिएन । भेटियो निक्कैबेर खोजिसकेपछि । तर यस्तो बिद्रुप अवस्थामा कि लागेन त्यही झोला हो । मक्किन थालिसकेको । एक दुइ ठाउँ मुसाले नै काटेजस्तो लाग्ने प्वाल थिए ।  नयाँ झोला मसित थिएन । पुरानो झोला बोकेर यात्रा गर्न धेरै त अहम्ले नै दिएन । हो, यसैबेला मलाई त्यो झोलाको खूब माया लागेर आयो । यो त्यही झोला थियो जो मेरो दुबै काँधमा झुण्डिएर हिँड्थ्यो । मेरा हरेक आवश्यकतालाई जबरजस्ती सकी नसकी पनि बोकिदियो । कहीँ कुनै चौतारीमा अढेस लाग्नका लागि कहिले सिरानी पनि बनिदियो । कहीँ कुनै अनकन्टार ठाउँको होटलको कोठामा साथी पनि भइदियो । मैले छाडेर गएँ त्यसलाई पटक पटक, तर त्यसले मलाई छाडेर कहिल्यै गएन । हो, त्यही झोलाको माया लागेर आयो मलाई । त्यसलाई बोक्न तम्तयार मेरो काँध त थियो तर त्यही झोला आफू बोकिन तयार देखिएन । कति काम दिएको थियो त्यसले जति बेकम्मा भएपनि याद आइरह्यो । बेला बेला धोएको भए, ठीक ठाउँमा राखेको भए, त्यसरी त्यसको भारभन्दा बढी सामान नकोचेको भए………………….झोलाको अस्तित्वको अवसानसितै यी अपसोसहरु आफसेआफ बिकसित भएर आए ।

कतिपय कुराहरु यस्ता हुन्छन्, जो जतिखेरपनि छेवैमा भइरहँदा वास्ताबेस्ता हुन्न, तिनलाई एक नजर ध्यान दिएर पनि हेरिन्न । ‘त्यहीँ त छ नि’ भनेर त्यसलाई आफ्नै ठाउँमा बेबारिसे छाडिन्छ । ढल्न आँटेको छ भनेपनि सोझ्याइन्न । भुइँमै झरेको छ भने पनि उठाइन्न । धुलो जमेको छ भने पनि पन्छाइन्न । केही खिइने चीज छ भने, खिइँदै छ भनेर पनि सम्झिइन्न । त्यसले पाउनुपर्ने आफ्नो ठाउँ दिलाउन पनि आफूलाई अघि सारिन्न । ‘छैन’ भन्ने चीजसित निथ्रुक्क भएर रुन मन लाग्छ । ‘छ’ भन्ने चीजसित भएरै पनि सँगै हुन मन लाग्दैन । तर तिनै कुरा जब हराउँछन्, टुट्छन्, फुट्छन्, फाट्छन्, खिइन्छन्, नासिन्छन् वा हामीसित रहन्नन्, तबमात्र हामी त्यसलाई खूब सम्झन्छौँ । त्यसले कति काम दिएको थियो भनेर बिलौना गर्छौँ । त्यसको महत्व अस्तित्व नै सिदिएपछि बढी हुन्छ । मागेर समय फिर्ता पाउने भए आफूले गरेको त्यो बेवास्तालाई बिगतमा गएर संशोधन पनि गर्दो हौँ । त्यो कुरा चाहे यी यस्तै झिनामसिना चीज हुन् या ठूल्ठूला कुरा । जस्तो कि कसैसितको सम्बन्ध । जस्तो कि कोही आफ्नै नजीकको मान्छे । जो जतिखेर पनि उपलब्ध हुन्जेल नभएजस्तो व्यवहार गर्छौँ र जो नभएपछि चाहिँ भइदिएको भए भन्ने गुनासो सदाबहार गर्छौँ । साँच्ची, झोला त बजारमा गएपछि अर्को, अर्को नभए अझ अर्को रोजीरोजी पाइन्छ । तर सम्बन्धहरु ? सम्हालेर राख्नुस्, तिनमा धुलो नजमोस्, खिया नलागोस्, प्वाल नपरोस् ।

प्रकाशित:
कान्तिपुर साप्ताहिक २०७५ साउन ५ गते

 

 

Posted in blog(fp).