दुःखको मूल्य

दुःख दुखै हो । दुःखको रङ्ग सुखको रङ्गभन्दा धेरै फरक छ । हरकोहीलाई यो छेउमै नआइदियोस् जस्तो लाग्छ । हर कोहीलाई यसको छेउछाउबाट पनि गुज्रनुु नपरोस् जस्तो लाग्छ । मान्छे दुखी हुनु नपरोस् भन्ने संघर्ष गर्दा गर्दा थाकेर दुखी छ । मान्छे संसारमा दुःख किन छ भन्ने सोचेर नै दुखी छ । मान्छे सुखको धेरै लोभ गर्ने भएकाले दुखी छ । मान्छे दुखी छ दुःखसित बसउठ गर्न नजानेकाले । मान्छे दुखी छ दुःखसित ठीकठाक परिचित हुन नसकेकाले ।मान्छे दुखी छ दुःखलाई आत्मसात् गर्न अभ्यस्त नभएकाले ।
दुःखको अस्तित्व देखेर नै सिद्धार्थ गौतम बुद्ध भए । हर दुख बिष होइन । हर दुःख दुस्मन पनि हुँदैन । हर दुःखले सधैँ दुःख दिँदैन । दुःख सधैँ हाम्रो यात्राको अवरोध बनेर आउने पनि होइन । हर दुःखका बादलले आँशुको वृष्टि गराउने पनि होइन । दुःख पनि क्षणभङ्गुर हो, सुखजस्तै । मानिसको जीवनमा हर दुःखको पनि आयू हुन्छ, सुखकोजस्तै ।

प्रकृतीले आँशुलाई परेलीमै कतै थुनिराख्न बनाएको होइन, भित्रैदेखि निचोरिएर बगाइदिन बनाएको होला । आँशु सुकेर रसाएको हाँसो जतिको मिठो संसारमा खै अरु के होला र ? हर दुःखले सुखलाई पछ्याइरहेको हुन्छ । हर सुखले पनि दुःखलाई पछ्याइरहेको हुन्छ । हर कोहीको जीवनमा यी दुबैको ठाउँ छ । हुनुपनि पर्छ । दुखसित डराएर जथाभावी भाग्नु पनि मुर्खता हो । सुख देखेर अन्धाधुन्ध पछि लाग्नुपनि मूर्खतै हो ।
केही दुःखले मान्छेलाई मान्छे बनाउँछन् । केही मान्छेले दुःखलाई मनमनमै गुणन गरे जबरजस्ती ठूलो बनाउँछन् । केही दुःखले मान्छेलाई दुनियाँ चिन्न सघाउँछन् । केही दुःखले मान्छेलाई जीवनभर कसैले नपढाएको पाठ सिकाउँछन् । मान्छेलाई दुःखमात्र पर्नु पर्छ, साथी र शत्रुपनि सर्लक्कै छुटिन्छन् । मान्छेलाई दुःखमात्र पर्नुपर्छ ठिक्क पार्ने र माया गर्नेका रङ्ग पनि देखिन्छन् ।दुखैले त हो आफैँलाई निखार्न सकिने, दुखैले हो आफैँलाई तिखार्न सकिने । दुःखहरु छन् र त सुखको पनि मूल्य छ । सधैँ हाँस्दा त हाँसोको पनि स्वाद हुन्न । सधैँ रमाउँदा त रमाइलोको पनि मजा हुन्न । सधैँभरिको एकनासको खुसीमा त मान्छे खुसी भइरहन पनि सक्दैन । हरेक दिन दीपावली भयो भने उज्यालोको पनि के मूल्य होला ? हरेक दिन शनिबार भयो भने, त्यै शनिबार हाम्रो दुःखको कारण बन्ला । हप्ताभरि काम गर्नेले शनिबारको स्वाद जसरी लिन्छन्, त्यसरी लिएको सुखको स्वाद मिठो । दिनभरि थाकेर बेलुकी ओछ्यानमा पल्टँदाको सुःख र आराम दिनभरिको दुःख र श्रमका कारण नै मिठो छ । दुःख भन्ने चीज तत्कालका लागि मात्र दुःख हुन्छ, कालान्तरमा त्यै दुःख अनुभवको दराजमा एउटा स्मृतीयोग्य खजाना बनेर बसिदिन्छ, जसलाई अनुभवको त्यो दराज खोलेर बेला बेला ओल्टाइ पल्टाइ गर्न मन लाग्छ । सुम्सुम्याउन मन लाग्छ । कुनै समयमा कसैले भोगेको दुःख नै संसारमा धेरै पढिने पुस्तक भएका छन् । धेरै सुनिने संगीत भएका छन् । धेरै हेरिने चलचित्र बनेका छन् । सुनिरहुँ लाग्ने कुरा भएका छन् । दुःख उर्जा हो जसबाट सयौँ वाटको बिजुली नबलेपनि हजारौँ लाखौँ मान्छेका लागि सिक्ने सिकाउने कुराहरु पक्कै निस्कन्छन् । दुःख पिरो अचार हो जसले जिन्दगी नाउँको परिकारलाई ट्वाक्क बनाइरहेको छ ।
मलाई सुखको त्यो उचाइ प्रिय लाग्छ जहाँ पुग्नका लागि मैले दुःखका केही खुड्किलाहरु पार गरेको होऊँ ।

प्रकाशित: कान्तिपुर साप्ताहिक
२०७५ जेठ २५ गते

Posted in blog(fp).