तिहार र खुसी

‘बाहिर बत्तीको झिलिमिलि छ, तर भित्र म निभेको छु ।’
यो पंक्ति मेरो उपन्यास ‘समर लभ’ बाट हो । लक्ष्मीपूजाको दिन प्रेम बियोगको पीडामा छट्पटाइरहेको एउटा पात्रको मनदेखिको बिलौना हो यो ।
कुनै कुनै तिहारमा म स्वयम्लाई पनि यो स्तरको नैराश्यले नघेरेको होइन । बाहिर उज्यालोको साम्राज्य जतिसुकै फैलिएको होस्, भित्र पीडाको अन्धकारमा खुम्चिएर म नबसेको होइन । बाहिर घामले नुहाएर हाँसेको हुन्थ्यो सयपत्रीको थुँगो, भित्र मेरा आँखा ओसिलो अनि मन गहु्रंगो ।
धेरैजसो तिहारले घरको आँगन मात्र होइन मनै उज्यालो र झलमल्ल बनाएर गयो । अनि केही तिहार यस्ता पनि आए जसले ओठमा खेलिरहेको थोरै हाँसो पनि खोसेर लग्यो ।
मन उदास भयो भने न ऊसलाई दसैँको आभास हुन्छ, न तिहार खास लाग्छ । मनै खिन्न भो भने जतिसुकै राम्रो चीजपनि बकवास लाग्छ ।
तिहार सयपत्री र मखमलीको थुँगोमा मात्रै आएर हुन्न । तिहार झकिझकाउ बजारमा मात्र आएर हुन्न । तिहार सेलरोटी र अनरसाका गन्धले मात्र पनि ल्याउने होइन । तिहार देउसी र भैलीको लयमामात्र खोजेर भेटिन्न । तिहार सप्तरंगी टीकाको लर्कोमा मात्र टाँसिने होइन । तिहार जुवा, तास र मदिराको खालमा त झन् कहाँ भेटिएला र ? तिहारको रौनक सबैभन्दा पहिला मानिसको मनमा आउनुपर्छ । तिहार आएको छनक मानिसको मनका बगैँचामा आशाको फुल फुलेर हुनुपर्छ । मानिसभित्र जब उत्साहको दियो बल्न सक्छ, त्यही हो तिहार आएको प्रमाण । मानिसभित्रका चाहनाहरु जब मगमगाउन थाल्छन्, त्यही हो तिहारको वास्तविक गन्ध ।

मन खुसी भयो भने हर दिन तिहार, मन दुखी भए त न दसैँ, न तिहार, सब बेकार । हाम्रो जीवन त्यति धेरै लामो पनि छैन कि उदासीहरुलाई सर्पलाई दुध ख्वाएर पालेझैँ सधैँभरि पालेर बसिरहन सकौँ । हामी दुखी हुने, बिलौना गर्ने, रिसाउने अनेक झीनामसिना बहाना खोज्छौँ । चाडवाड नै सही, खुसी हुने बहाना त भेटिएको छ, तरपनि मन खोलेर हुँदैनौँ ।
सबैका आआफ्ना दुःख आआफ्ना नैराश्यता, आआफ्ना बिलौना । कतिपयलाई चाडवाड आएको होइन, चाडवाडले लखेटेको लाग्छ, काँधमा बढेको जिम्मेवारीको भारले जो थिचिएको छ । भाइटीका लगाउने भाइ परदेशमा छ, दिदीको दुःख यता आफ्नो देशमा बेग्लै । देउसी खेल्न जाने ठूलो रहर छ तर साथी छैनन्, कसैका यस्ता बिलौना पनि त होलान् ।
कारणहरु अनगिन्ती छन्, दुखी हुनलाई । अनि कहाँबाट आओस् त वास्तविक तिहार ? कसरी हुन सकोस् त मानिसको मन गुलजार ? यसरी त क्यालेण्डरमा पल्टिएको कार्तिक महिनाको पृष्टमा रातो अंकको मुन्तिर लेखिएको लक्ष्मीपूजा, वा गोवद्र्धन पूजा अथवा भाइटीका भन्दा बढी केही हुन्न तिहार । जो किन मनाउने ? भन्ने प्रश्नको जवाफमा पनि क्यालेण्डरले मना भनेर सूचना दिएको छ त्यसैले भन्ने स्तरकोभन्दा माथ्लो कोटीको जवाफ आउन्न ।
तिहार अरुले पनि मनाउँछन् त्यसैले मपनि मनाउँछु भन्ने कारणले मनाउने होइन । तिहार मात्र होइन, कुनैपनि चाडवाड, उत्सव, पर्व, अरुको देखासिकी गरेर आत्मसात् गर्ने होइन । चाडवाड भनेको विशुद्ध आफ्नै लागि मनाउने हो । आफ्नै खुसीको लागि मनाउने हो । आफ्नै खुसीले मनाउने हो । कसैको पनि खुसी नचोरिकन मनाउने हो । भरसक आफूभित्रको खुसीलाई फैलिएर अरुसम्म पु¥याउनेगरी मनाउने हो ।

एक बरस मे एक ही बार
ज्गती होली की ज्वाला
एक बार ही लगती बाजी
जलती दीप की माला
दुनियावालो किन्तु किसि दिन
आ मदिरालयमे देखो
दिनको होली रात दिवाली
रोज मनाती मधुशाला

 

भारतीय कवि हरवंश राय बच्चन को मधुशाला शीर्षकको कविताले भलै मधुशालामा हरदिन दिउँसो होली र राती दिपावली मनाउने कुरा गरेका हुन्, हामीले समग्र जिन्दगीलाई नै त्यस्तै मधुशाला बनाउन सक्छौँ, जहाँ हरदिन होली होस् र हररात दिपावली होस् । चाडवाड होस् या खुसी, खोज्नलाई क्यालेण्डर नै पल्टाइराख्नु नपरोस् ।

प्रकासित: कान्तिपुर साप्ताहिक
२०७५ कार्तिक १६ गते शुक्रबार

Posted in blog(fp).