तपाईँको किताब पढेर पागल भएँ भन्ने युवतीहरू प्रशस्तै छन् : सुबिन भट्टराई

बिन भट्टराई नेपाली युवायुवतीका मुटुका ढुकढुकी हुनुहुन्छ । प्रेम पनि समाजको एक समस्या हो भन्ने मान्यता राख्ने भट्टराई आफ्नो पहिलो कृति ‘कथाकी पात्र’बाट व्यवसायिक लेखनमा होमिनुभएको हो । पाठकले ‘झेल्नसक्ने’ किताब लेख्नुपर्ने उहाँको विचार छ । प्रायः दिउँसो मात्र लेख्ने सुबिनलाई स्थापित गर्ने कृति ‘समर लभ’ हो । यसैको दोस्रो शृंखला ‘साया’ले उहाँको लोकप्रियता बढायो । आफूलाई फरक धारको लेखक भन्न रुचाउने भट्टराई यसै वर्ष ‘मनसुन’ लिएर बजारमा आउँदै हुनुहुन्छ । पहिलो कृति कथासंग्रह भएपनि त्यसपछिका तीनवटा भने उपन्यास हुन् । सामाजिक सञ्जालमा लाखौं शुभचिन्तक रहेका उहाँ लेखेरै बाँच्ने थोरै व्यवसायिक लेखकमध्ये पर्नुहुन्छ । काठमाडौं कपनमा बस्दै आउनुभएका लेखक भट्टराईसँग उहाँका कृतिका बारेमा लोकान्तरकार्यालयमा गरिएको कुराकानी :

साहित्यकारको रूपमा स्थापित हुन के-के गर्नुप-यो ?

यसको जवाफ दिन मैले मेरा तीनवटा किताबको कुरा गर्नुपर्छ । कथाकी पात्र, समर लभ र सायासम्म आइपुग्दा मैले खासै संघर्ष गर्नुपरेन । प्रकाशकले यसरी दुःख दियो, यस्तो उस्तो भनेर कुरा गर्छन् लेखकहरू तर मेरो सवालमा यो लागू भएन । पहिलो पुस्तक मेरो आफ्नै लगानीमा प्रकाशित भएको हो । यसबाट मैले राम्रै प्रतिक्रिया पाएँ ।subin vattarai (2)

त्यसपछि समर लभ आयो । हिजोे
कथाकी पात्र पढेर मलाई प्रशंसा गर्नेहरूले यसमा अलि गाली पनि गर्नुभयो । म भने नयाँ पुस्ताका पाठक कमाएको अर्थमा खुशी भएँ ।

यो मेरो लागि सुखद कुरा हो । यसपछि पाठकहरूकै दबाबमा साया निकालेँ । समर लभको निरन्तरताको रूपमा यो किताब लेखेको हुँ । समर लभलाई धेरैले माया गरेका थिए ।

यसको तुलनामा सायाले कम माया पायो । व्यवसायिक हिसाबले भने साया निकै सफल भयो । हप्तादिनमा २० हजार प्रति किताब बिक्नु भनेको चानचुने कुरा होइन । यसले त रेकर्ड नै तोड्यो ।

तर समीक्षात्मक हिसाबले भने साया असफल भयो । अब यसै वर्ष पाठकहरू समक्ष मनसुन उपन्यास पस्किँदैछु । यसरी उतारचढावमा मेरो लेखनयात्रा यहाँसम्म आइपुगेको छ ।

तपाईंका कृतिहरूमा फरक खालका शीर्षक देखिन्छन्, यो संयोग हो कि योजना ?

मैले नियतवश यस्तो गरेको होइन । जस्तो समर लभको शीर्षक राख्दा मैले धेरै मेहनत गरेको थिएँ । मैले सयौं शीर्षक राख्दा पनि चित्तबुझ्दो आएको थिएन । पछि प्रकाशकले नै यो शीर्षक जुराइदिनुभएको हो । साया भने समर लभकै पात्रको नाम हो । म अरूभन्दा अलि पृथक् शीर्षक राख्न रुचाउँछु । सम्झिन सजिलो र सबैले बुझ्ने खालको होस् भनेर ध्यान पु-याउँछु ।

आफू नेपाली साहित्य जगतमा कत्तिको जमेको छु जस्तो लाग्छ ?

साहित्यिक जगत् भनेर जुन वृत्त छ, म त्यो भन्दा बाहिर छु । तपाईंले भनिरहेको साहित्यिक जगतले मलाई स्विकार्न सकेको छैन । म यो जगतबाट बाहिर नै छु अझै ।

धेरै ठूलो त होइन तर एउटा सानो झुण्डले मलाई साहित्यकारको रूपमा लिँदैन । म झुण्डमा मिसिन खोज्दा पनि छिर्नै दिइएको छैन । तर नेपाली साहित्यको केन्द्रीय धारको बारेमा थाहा नपाएको पाठकले मलाई खुब रुचाउँछ ।

यसरी पृथक् रहेर कहिलेसम्म टिक्नुहुन्छ त ?

जतिसम्म टिकिन्छ, टिकिन्छ । म त्यस्तो टिक्ने नटिक्ने, बिक्ने नबिक्ने खेलको पछि लाग्दिनँ । कवि कलाकार सधैं  टिकिरहने भन्ने हुँदैन । म आफ्नै धारमा चलिरहन्छु । कुनै दिन ममा पनि परिवर्तन आउला । तर अहिले म जे छु ठीकै छु ।

तपाईंको धार चाहिँ कुन हो नि ? 

म एउटा लेखक हुँ । पाठकहरूले युवा साहित्यकार भन्दा पनि मलाई त्यो उपाधि भारी लाग्छ । म त बस् पाठकहरूको मनमा बस्न चाहन्छु । म विशुद्ध रचनाकार हुँ ।

पाठकलाई मनोरञ्जन दिन चाहन्छु । पाठकहरूलाई मनोरञ्जन दिनु नै मेरो मुख्य उद्देश्य हो । धेरै लेखकले जस्तो पुस्तकमा मैले कुण्ठा पोखेको पनि छैन जस्तो लाग्छ । यिनै कुराहरू नै मेरा धार हुन् । म कथावाचक हुँ । सरल भाषामा कहानी भनेर पाठकहरूलाई भरपूर मनोरञ्जन दिनुपर्छ भन्ने कुरामा विश्वास गर्छु ।

आफूलाई अरूभन्दा फरक छु जस्तो लाग्छ हो तपाईंलाई ?

त्यसो पनि नभनौँ किनभने यसो भन्दा घमण्डी भन्ने आरोप लाग्न सक्छ । स्वीकार्यताको हिसाबले म मूलधारमा अटाउन सकेको छैन । मलाई नरुचाउने केही तत्वहरू छन् । हुनत सबैले एउटै धाराको पानी खाएको हो । मैले पनि बिपी, पारिजात, गोतामे पढेको हुँ, उनीहरूले पनि तिनैलाई पढेका हुन् । हाम्रो मूल एउटै हो तर मैले अलि अर्कै बाटो रोजेँ । मैले आफ्नोे बाटो आफैँ रोजेको हुँ ।

समर लभ र सायाको रचनागर्भको बारेमा बताइदिनुुस् न !

कथाकी पात्र लेख्दा त्यसका कथा युवापात्र प्रधान थियो । त्यसैले मलाई युवाहरूको लागि केही लेख्नुपर्छ भनेर लागेको थियो । त्रिभुवन विश्वविद्यालयमा पढ्दा त्यहाँको वातावरण, साथीहरूका प्रेम कहानी, कलेज जीवनको रमाइलो आफ्नै आँखा अगाडि देखिएको थियो ।

त्यो माहोललाई नै मैले उपन्यासमा ढालेको हुँ । यसमा मेरा साथीहरूका कथा छन् । कतिका प्रेम कहानीहरू अहिले सफल दाम्पत्य जीवनमा परिणत भएका छन् । म आफैँ पनि यो उपन्यासमा पात्रको रूपमा कताकता छु ।

यसमा यसको उसको भन्दा पनि सबैको कलेज जीवनलाई प्रतिनिधित्व गराउन खोजेको छु ।subin vattarai (4)

मनसुनको बारेमा अलिकति बताइदिनुस् न ?
यो पनि मायाप्रेमकै कुरामा लेखिएको उपन्यास हो । तर पछिल्ला दुई उपन्यासहरूको निरन्तरता चाहिँ होइन । हुन त यसमा पनि माया गर्ने र छुट्टिने कथा नै छ । पाठकलाई भरपुर आनन्द दिनेगरी उपन्यास मार्फत मैले कथा बुनेको छु । शीर्षक तय भए पनि कथावस्तुमा फेरबदल भइरहेको छ । शायद दशैंभन्दा अगाडि बजारमा आउँछ ‘मनसुन ।’

तपाईंका कृतिमा पात्रहरूलाई न्याय अन्याय भयो भन्ने कुरा आए कि आएनन् ?

मलाई पात्रलाई न्याय गर्ने वा अन्याय गर्ने भन्ने कुरामा त्यति ख्याल लाग्दैन । आख्यान न हो । एउटाको जरो उखेलिँदा अर्कोलाई ओखती त लाग्छ नै । त्यो गर्नु पनि पर्छ ।

पाठकलाई मनोरञ्जन दिनैपर्छ । काल्पनिक पात्रलाई जता घुमाउँदा कथाले सही बाटो लिन्छ त्यसैगरी चलाउने हो । न्याय अन्यायको त्यत्ति हेक्का राख्दिनँ म । अन्यायमा पर्दैगर्छन् ।

रचनामा तपार्इंको आफ्ना व्यक्तिगत चरित्र कत्तिको झल्कन्छ नि ?

मलाई यो कुरामा कमजोर छु जस्तो लाग्छ । म आफू हावी हुन्छु लेखनमा । यो धेरै लेखकको समस्या हो जस्तो लाग्छ । लेख्दा होश हुँदैन तर पछि याद आउँछ । ओहो, म यहाँनेर चुकेछु जस्तो लाग्छ ।

तपाईं कुन नेपाली साहित्यकारहरूबाट  प्रभावित हुनुभयो ?

मैले पनि नाम लिने शास्त्रीय नामहरू नै हुन् । मैले विपीबाट मान्छेको मनभित्रको अन्तरकुन्तर केलाउने मनोविज्ञान सिकेँ । पारिजातबाट भावुकता सिकेँ । धु्रवचन्द्र गौतमबाट श्याम व्यंग्य सिकेको छु । म उहाँहरूबाट नै धेरै प्रभावित छु ।

लेखक, त्यसमाथि पनि यति धेरै चर्चाको लेखक, बन्छु भन्ने सपना थियो ?

 

यसरी व्यवसायिक लेखक नै बन्छु भन्ने त लागेको थिएन तर एउटा किताब नछापी मर्दिन भन्ने चाहिँ थियो । बच्चैबेलामा यस्तो लाग्थ्यो । युवा भएपछि किताब नछापी बिहे गर्दिनँ जस्तो लाग्थ्यो । परिस्थितिले व्यवसायिक बनायो लेखनमा । राम्रो अंक ल्याएर स्नातकोत्तर पास गरेको थिएँ ।

करिब दुई सय ठाउँमा जागिरको लागि निवेदन हालेँ तर अन्तर्वार्ताका लागि समेत नबोलाएपछि म यतातिर लागेको हुँ । आफु लेखक हुनुलाई म एक किसिमको संयोग नै ठान्छु । जागिर नपाएपछि दिकदार भएर आफूले लेखेका पुराना कथा पढ्न थालेँ, अग्रजहरूको सल्लाह लिन थालें ।
फ्यानहरू  कत्तिका छन्  तपाईंका ?

धेरै हुनुहुन्छ । अहिलेको भाषामा फ्यान भनेका मेरा पाठक नै हुन् । तर मेरा पाठकहरू बहस गर्दै टेबुल ठटाउने खालका छैनन् । फोटो खिच्ने, फेसबुकमा हाल्ने — यस्तै खालका पाठक छन् मेरा । म हालै युरोप भ्रमणका बेला कोपनहेगनमा थिएँ ।

रेल स्टेसनमा एकजना नेपाली युवती दौडिँदै आएर मसँग फोटो खिचेर गइन् । उनी जानुपर्ने अन्तै रहेछ तर मलाई देखेर बीचमै ओर्लेर आएकी रहिछन् । मेरो अनुहार चिनेर आएकी रहिछिन् स्वाँ स्वाँ गर्दै । म तपाईंको किताब पढेर पागल भएँ भन्ने युवतीहरू पनि प्रशस्तै छन् । म फ्यानहरूबाट घेरिँदा मेरी श्रीमतीले पनि पर बसेर हेर्नुपर्ने अवस्था आउँछ कहिले त । तर उनी पनि मप्रतिको अरूको सद्भाव देखेर खुशी हुन्छिन् ।

तपाईँको किताब पढेर पागल भएँ भन्ने युवतीहरू प्रशस्तै छन्ः सुबिन भट्टराई

शनिवार ४ असार २०७३ मा प्रकाशित– See more at: http://lokaantar.com/sahityata-kala/9874#sthash.6ujYHvWF.dpuf

 

 

Posted in Media Coverage.