चस्मिस केटीले भनी – ‘घुरे पनि पुलिसलाई कम्प्लेन गर्दिनँ’

बिहा सकिन लाग्यो ।

लामो छुट्टी भइसकेपछि स्कूल जान लागेको बालकको झैं मेरो हालत भएको थियो । भोलि निर्वाण कन्ट्री क्लब, घोपा क्याम्पमा रामेश्वरको बिहाको पार्टी हुँदै थियो । ऊ आउँछे कि आउँदिन ? आई भने त ऊसित पक्कै भेट हुन सक्थ्यो । त्यही एउटा झिनो आशा लिएर म जन्तीसँगै रामेश्वरको घर फर्किएँ ।

भोलिपल्ट ।

बेलुकी ६ बजेपछिको माहौल । झमक्क साँझ परेको थियो । निर्वाण कन्ट्री क्लब, घोपा क्याम्पको हरियाली । सुन्दरे र म दुईदुई पेग लगाएर बसिसकेका थियौं । हलुका मात लागेको थियो । रामेश्वरहरु भित्रपट्टि हलमा आगन्तुकको बधाई लिन व्यस्त थिए । के ऊ आउँछे ? के मेरो आस खेर जाँदैन ? त्यत्रो भीडमा म उसैलाई खोजिरहेको थिएँ ।

आँखाहरुलाई हतार थियो उसलाई देख्न । म चौरको एउटा टेबल ओगटेर बसिरहेको थिएँ । मेरा आँखा निम्तालु छिर्न सक्ने सम्भावित सबै ठाउँतिर पालैपालो केन्द्रित थिए ।

र ऊ आई । सात बजेतिर । मनमा भावनाको लहर उठ्यो, परीहरु यसरी फिर्ता आउन पनि सक्छन् ।

हरियो गाउनमा सजिएकी ऊ चौरकै एक टुक्रा जस्तै लागी । अनि हिजोभन्दा भिन्न । हेभी मेकअपमा थिई । हिजोकी सरल केटी आज कुनै मोडलिङको र्‍याम्प वाकमा आए जस्तै देखिएकी थिई । आँखा गाजल र आई स्याडोले यसरी सजिएको थियो, झट्ट हेर्दा बिरालोका आँखा झैं लागे । गोलो, ठूलो इयररिङ लगाएकी । हिजोको फुक्का कपाल पछिल्तिर एकैठाउँमा समेटेर जुरो जस्तै बनाइएको थियो ।

म फेन्ट होऊँला जस्तो भएँ । उसलाई टाढैबाट हेरेर रमाइरहेँ ।

तर, आज ऊ उदास देखिई । एक्लैएक्लै बसिरही । चिनेजानेकासित एकछिन बोली र उनीहरुको समूहबाट बाहिरिइहाली । घरीघरी मोबाइल हेरिरहेकी थिई ।

वेटरले डुलाउँदै ल्याएको कोल्ड ड्रिङ्क्सको एउटा ग्लास उसले समाती ।

‘राम्री छैन त ?’ छेवैमा आएर सुन्दरेले भन्यो ।

म तर्सिएँ । चोरी पक्रिइए झैं भएँ ।

खैरो सुटमा ड्यासिङ देखिएको सुन्दरे त्यही चस्मिस केटीतर्फ इसारा गर्दै हल्का मस्किरहेको थियो । मलाई चसक्क भयो ।

‘के नाम रैछ ?’ सोधेँ ।

‘नाम जानेर के गर्छस् ?’ सुन्दरेले भन्यो, ‘नाता जानिराख् । तैंले भाउजू भन्नुपर्छ ।’

उसको कुराले म ट्वाँ परेँ ।

सुन्दरेले भन्यो, ‘के म तेरो दाइ होइन ?’

उसका शब्दहरु कुटिल लागे । मलाई रिस उठ्यो ।
‘दाइ चैं पक्कै होलास्,’ मैले भनेँ, ‘तर त्यो केटीलाई भाउजू मान्न म तयार छैन ।’

‘किन ?’ शरीर मैतिर मोडेर उसले सोध्यो ।

‘फिल आउन्न,’ मैले भनेँ ।

‘ओए फटाहा !’ सुन्दरे चिच्यायो, ‘भाउजू मान्नलाई केको फिल चाहियो ?’

‘प्रेमिका मान्न तयार मान्छेलाई भाउजू मान्न कसरी आउँछ फिल ?’ जवाफ दिइसकेपछि आनन्द आयो ।

‘उसो भए तँ पनि लाइनमा ?’

अघिल्लो दिनदेखि एउटा बेचैनीसित जुधेर बसेको थिएँ । धड्कनहरुमा सङ्गीत भरेर बसेको थिएँ । रहरहरुलाई पखेटा हालिदिन थालेको थिएँ । यी सब सुन्दरे खोस्न खोजिरहेको थियो ।

‘म पनि !’ म कड्किएँ, ‘म मात्र छु यो लाइनमा ।’

‘लाइन अलिक लामै देखिन्छ,’ सुन्दरेले मलाई पूर्वतिरको दिशामा देखाउँदै भन्यो, ‘ऊ त्यहाँ हेर् !’

दुई केटा आपसमा मस्किँदै उसलाई थाहै नहुने गरी ऊतिर हेरिरहेका थिए । पार्टीमा हट भएर आएपछि केटाहरुको ध्यान जानु अस्वाभाविक थिएन पनि । राम्री केटी लोभलाग्दो लहलहाउँदो फल न हो, जसका पनि आँखा परिहाल्छन् ।

‘ठीक छ,’ मैले भनेँ, ‘जसले सक्छ उसले गर्छ । देख्नेबित्तिकै यहाँ प्रेम कसलाई भएको हो र ? केटी राम्री लागेर पो !’

‘तीन वटा कुरा हुन सक्छन्,’ आयो सुन्दरे आफ्नो लयमा, ‘एक, कि त्यो केटी मेरी हुन्छे । दुई, कि त्यो तेरी हुन्छे । तीन, त्यो हामी दुईबाहेक अरु कसैकी हुन्छे ।’

सुन्दरेले झनक्क रिस उठायो । उसलाई बेवास्ता गर्दै त्यही केटी भएतिर गएँ ।

केटीको नजिकै त गएँ तर बोल्ने आँट आएन । अलिक परबाट मज्जाले नियालेँ उसलाई, उसले नदेख्ने गरी ।

उसको अनुहार लाम्चो र मार्बल जस्तै चिल्लो देखिन्थ्यो । आइब्रो पेन्सिलले मिलाएर कोरेको मसिनो धर्को जस्तो थियो, जो चस्माको फ्रेमभन्दा अलिकति माथि थियो ।

ऊ एउटी केटीसित हिँड्दै बोलिरहेकी थिई । मलाई सजिलो भो कम्तीमा उसलाई हेरिरहन । ऊ जताजता जान्थी, म उसले थाहा पाउने गरी त्यतैत्यतै जान्थेँ । ऊ चाल पाएर पनि नदेख्या झैं गरिरहेकी थिई । तर, उसका आँखामा घृणा थिएन । प्रेम थियो भन्न खोजेको होइन । तर, अलिकति प्यास पक्कै थियो ।

लाग्थ्यो, उसलाई पनि मसित बोल्न मन छ, मलाई ऊसँग बोल्न मन भए झैं । तर, सङ्कोचको बाक्लो घुम्टो यता पनि थियो, उता पनि । कम्तीमा नाम साटासाट गर्न पाए पनि त्यै नामले बोलाइरहने बहाना हुन्थ्यो ।

धेरै बेरसम्म हामीबीच लुकामारी चलिरह्यो । म चारैतिर विचार पुर्‍याइरहेको थिएँ । हामीबीचको लुकामारी कसैले चाल नपाओस् भन्नेमा चनाखै थिएँ । ऊ मलाई हेरिरहेकी थिई । म अन्यत्रै हेरेको अभिनय गर्न लागेँ । केहीछिनपछि उसले बिर्सिहोला भन्ठानेर ऊतिर आँखा लगेँ । ऊ त अझै मलाई नै एकाहोरो हेरिरहेकी रैछ ।

म हलभित्र लागेँ । हलमा रामेश्वर आगन्तुकले दिँदै गरेको बुके हातमा लिँदै मुस्कुराइरहेको थियो । हरेक आगन्तुकसित फोटोसेसन पनि भइरहेको थियो ।

पार्टीमा आएको मान्छे, यसरी मुख लुकाएर पनि काम बन्छ ? आफैंलाई भनेँ । हिँडिरहेको वेटरको ट्रेबाट ह्विस्कीको एउटा गिलास उठाएँ र स्वाट्ट पारेँ, त्यो चस्मिस केटीको हेराइभन्दा पनि कडा लाग्यो । लौ, यो के ? चस्मिस केटी पनि पार्टी हलभित्रै छिरेकी थिई ।

मैले उसलाई बेवास्ता गर्न थालेँ । छेउमा कोही परिचित थिएन । भए बोलाएर अवश्य गफिँदो हुँ । सुन्दरे पनि यै बेला कता मुन्टेको थियो ।

करिब आधा मिनेटपछि मलाई पछिल्तिरबाट कसैले हातले कोट्याएर बोलाए जस्तो लाग्यो । सुन्दरे होला भन्ने भयो । म पछाडि फर्किएँ । तर, पछाडि सुन्दरे होइन, ऊ थिई । उही चस्मिस केटी । उसको ओठ धारिलो चक्कुले कलात्मक पाराले काटिएको मुस्ताङे स्याउको स्लाइस जस्तै लाग्थ्यो । रसिलो र सायद मीठो ।

नर्भस भएँ ।

उसको शरीरबाट सुन्तलाको बास्ना आइरहेको थियो । सायद पर्फ्युमको सुगन्ध थियो ।

म अवाक् भएर हेरिरहेँ ।

उसले सोधी, ‘तपाईं कताको ?’

उसका ओठ खुल्दा ती हलुका बतासको प्रभावमा फरफराइरहेको गुलाबको पत्ता झैं देखियो । ‘हजुर ?’ म उसको रुपले यति लट्ठिइरहेको थिएँ कि बोल्नै आएन ।

‘तपाईं कताको ?’ फेरि सोधी ।

‘काठमाडौं,’ मैले भनेँ । डरले चिटचिट पसिना काढ्न थालेको थिएँ । ओठ कामिरहेका थिए ।

‘ठाउँ कसले सोध्यो ? बेहुलातिर कि बेहुलीतिरको ?’

‘बेहुलातिर,’ मैले बेहुला लजाए झैं लजाउँदै जवाफ दिएँ, ‘म बेहुलाको साथी ।’

‘मलाई चिन्नुहुन्छ ?’ फेरि अर्को अजीव प्रश्न आयो ।

‘हजुर ?’ नर्भस हुँदै भनेँ ।

‘डु यु नो मी ?’

म नेपाली राम्ररी बुझ्थेँ । थाहा थिएन, उसले दोहोर्‍याएर त्यै प्रश्न अङ्ग्रेजीमा किन सोधी ?

‘चिन्दिनँ’ भने पनि भित्रभित्रै ‘म तिमीलाई जन्मौंदेखि चिन्दछु’ भन्न मन थियो ।

‘अनि नचिनेकोलाई त्यसरी खाउँला झैं गरेर किन हेर्नु ?’ अलिक झर्केर सोधी ।

‘खाउँला’ शब्दसँगै मेरा आँखा उसका ओठमा गएर अडिन पुग्यो, जुन अघिदेखि नै रसिलो मुस्ताङे स्याउको स्लाइस जस्तै लागिरहेथ्यो । त्यसको स्वादको परिकल्पना मस्तिष्कले गर्न थालेको थियो । तर, म केही बोलिनँ ।

‘ल भैगो,’ उसले मेरो हालतप्रति दया देखाउँदै भनी, ‘यतिसाह्रो डराउनु पर्दैन । पुलिसलाई कम्प्लेन गर्दिनँ ।’

ऊ यति स्विट भई मानौं तमोर खोलाको किनारमा लगाइएको उखुको गुलियो भर्खरै उसैमा आएर छिरेको छ । ऊ पाँच कदम अगाडि गइसकेकी थिई । घोक्रो सुकुन्जेल चिच्याएँ, ‘अझै हेरेँ भने पनि कम्प्लेन गर्दिनौ ?’

उसले दया गरेर छाडिदिएको मलाई मन परिरहेको थिएन । वास्तवमा म केटीसित भिड्न चाहन्थेँ ।

टक्क अडिएर ऊ पछाडि फर्की । र, सेता टिलिक्क दाँत देखाउँदै उसले भनी, ‘गर्दिनँ ।’

उसका तलतिरका दुईतीनवटा दाँत मिलेका रहेनछन् ।

‘हेर्‍याहेर्‍यै गरिरहेँ भने ?’ म मुस्कुराएँ । ऊ जवाफमा हाँसी मात्र ।

म उसको धेरै नै नजिक पुगिसकेको थिएँ । सुन्तला सुगन्धको पर्फ्युमको हरहर बास्ना फेरि आयो । उसको टमक्क परेको छातीमा मेरा आँखा गड्न पुगे । त्यो उसलाई अस्वाभाविक लागेर होला, ऊ सरासर अगाडि बढी ।

उसको कम्प्लेन नगर्दिने कुराले मेरो मनमा उत्साह थपिदिएको थियो । उसले मलाई ग्रिन सिग्नल दिए झैं लाग्यो । उसले दिएको औंला पचाएर डुडुल्नो नै निल्ने हिम्मत गरेँ- ‘तिम्रो नाम सोधे पनि कम्प्लेन गर्दिनौ ?’

‘गर्दिनँ तर नाम पनि भन्दिनँ ।’

ऊ बिस्तारै हिँडिरहेकी थिई । के उसले यसरी हिँड्न बिरालोबाट सिकेकी थिई ? उसको कम्मरको लचकताले मुटुमा भयानक ज्वारभाटा उठाइदियो ।

केही परबाट सुन्दरे हामीतिर आइरहेको थियो । मलाई सुन्दरेबाट जोगाउनु थियो उसलाई । के गर्ने, के नगर्ने केही सुझेन ।

हत्तपत्त सुन्दरे नजिक गएर अनुहार गम्भीर बनाउँदै भनेँ, ‘रामेश्वरले तँलाईं खोज्याखोज्यै छ ।’

सुन्दरे ‘हो र ?’ भन्दै सुइँसुइँ गयो ।

ऊतिर फर्कँदै मैले भनेँ, ‘अनि यो सुन्दरता चैं इम्पोर्ट गरेको हो कि होम मेड हो ?’

ऊ टक्क अडिएर मतिर फर्किई । अनि दाहिने काँधतिर गाउन अलिकति मिलाई र रिसाउँदै भनी, ‘तपाईं त हदभन्दा बढ्न थाल्नुभो ।’

‘के तिम्रो नाम हद हो ?’ कतै आफ्नो नाम भनिदिन्छे भन्ने आसमा सोधेँ ।

‘जेसुकै होस् मेरो नाम । किन भनूँ ?’ मसँग बोलिरहँदा उसका आँखा खरायो दगुरे झैं फुत्रुकफुक्रक फाल हानिरहन्थे । के म ती आँखामा चिप्लिएको हुँ ?

उसले देब्रेतिरको गाउन पनि मिलाई ।

‘तिमी चैं कताको ?’ अघिको उसको प्रश्न उसैलाई फिर्ता गरेँ, जवाफ पाउने आसमा ।

‘त्यो पनि भन्दिनँ ।’ उसले यसरी कडासित ‘भन्दिनँ’ भनी, मानौं मैले ऊसँग फेसबुकको पासवर्ड नै मागेको हुँ ।

म उसको सामुन्ने भएर अझै कुरा गर्न चाहन्थेँ, तर ऊ मलाई पिठ देखाएर अगाडि बढी ।

ऊ केही पर पुगिसकेकी थिई । मलाई अझै हिम्मत हार्न मन लागेन । केही पर गएर एउटा ह्विस्की र अर्को कोल्ड ड्रिङ्क्सको ग्लास लिएर आएँ र फटाफट चस्मिस केटी भएतिर लागेँ । ऊ कुर्चीमा बसिरहेकी थिई । धन्न, वरपर कोही थिएनन् । मलाई नै कुरे झैं लाग्यो ।

उसको छेउमा गएर अर्को चेयर तानेर बसेँ र कोल्ड ड्रिङ्क्स उसलाई अफर गर्दै भनेँ, ‘यो तिम्रो लागि ।’

मतिर अलिक झुक्दै भनी, ‘मैले मागेको थिएँ ?’

‘नमागेको कुरा पनि दिइन्छ,’ मैले भनेँ, थोरै ऊतिर झुक्दै ।

‘जस्तै ?’ मेचमा चल्मलाउँदै उसले सोधी ।

‘मन,’ मैले सहज भएर भनेँ ।

‘त्यो त सबैभन्दा धेरै तोडिने चिज होइन र ?’ उसले बडो उदास हुँदै भनी । के भन्ने उसको यो कुरामा, जवाफ केही दिन सकिनँ ।

उसलाई हेरी मात्र रहेँ ।

मैले एकटकले उसलाई हेरेको देखेर उसले अनुहार मोड्दै भनी, ‘त्यसरी नहेर्नुस् न ।’

‘कसरी हेरुँ त ?’ उसलाई झनै सीधा हेर्दै भनेँ ।

‘हेर्दै नहेर्नुस् ।’

Posted in blog(fp).