केही अतृप्ती

 

अलिकति अतृप्त हुनु राम्रो । अलिकति खालीपना कति सुन्दर हुन्छ । अलिकति तडप पनि बेस्वादिलो कहाँ हुन्छ ? अलिकति धोका नराम्रो कहाँ हुन्छ ? अलिकति रिस पनि राम्रै हुन्छ । अलिकति छट्पटि पनि मज्जै हुन्छ ।
जीवन सबै मानेमा, सबै क्षेत्रमा पूर्ण कसैको हुँदैन । भए त्यही जीवन सुन्दर कसैको रहँदैन । हामीलाई पूर्णताको खोजीले बढी दुखी बनाउँछ । केही प्रतिशत त दुख पनि मिठै हुन्छ ।
हामी जीवनमा सफलता, प्राप्ति, सुख र सम्बृद्धिको होडमा यसरी पछि लागेका छौँ, कि नपाएको खण्डमा आफैँलाई घृणा गर्न थाल्छौँ । एउटा आशक्तिमा आफैँलाई टम्म बाँधेका छौँ । यो पक्कै हो कि जीवनलाई हर ठाउँमा असफलता र दुखमात्र पनि सह्य हुँदैन । तर जीवन सधैँ सधैँ यिनै चीजहरुको लतमामात्र फस्नुपनि हुन्न ।

जीवन गन्तव्यलेभन्दा यात्राले सुन्दर हुन्छ । पुगेपछि त सक्किगो ! क्लाइमेक्सपछि के खोज्नू ? त्यसैले सक्किनुभन्दा चलिरहनु राम्रो हो ।
यहाँ हामी धेरै छौँ, जो यात्रा नगरी गन्तव्यमा पुग्ने मोहले प्रताडित छौँ । उकालै नचढी चुचुरोमा पुग्ने लोभले सताइएका छौँ । यात्रामा गर्न पाइने तमाम अनुभव जस्तो कि, थकाइ, तिर्खा, ठेस, जाडो, गर्मी, हावा, वर्षात् सबैलाई फड्केर एकैचोटी चुचुरोमा पुग्न चाहन्छौँ । यात्रा सम्झनलायक त यीनै अनुभवहरुले हुने हो भन्नेपनि बिर्सिन्छौँ । कहीँ पुग्नुले त ठाउँमात्र देखाउँछ, यात्रा गर्नुले नैे जीवन चिन्न सघाउँछ ।
जीवन हर ठाउँमा प्राप्ति, हर ठाउँमा सन्तुष्टिमात्रै भएर आयो भने त्यही प्राप्तिको मिठास पनि साधारण लाग्न सक्छ । त्यही सन्तुष्टिको आभास पनि खास नलाग्न सक्छ । जीवनका कैयौँ मोडहरुमा अप्राप्तिको काँडाहरु बिझ्नुपर्छ । असन्तुष्टिका फोहोराले भिज्नुपर्छ ।
अलिकति त रित्तिनु नै राम्रो । भरियो भने केहीका लागि ठाउँ नै रहन्न । अलिकति त असफलताले घोचेको च्वास्स पनि ठिक, जसले सफलताको स्वाद चिन्न सघाउँछ । अलिकति विवशताले कठालो समातेकै बेस् । समस्यासित जुध्न सिकाउँछ ।

हामी आफूलाई हर ठाउँमा, हर क्षेत्रमा पर्फेक्ट देख्न चाहन्छौँ । यहीँबाट शुरु हुन्छ मानिसका दुःखको यात्रा । पर्फेक्ट हुनु पनि क्लाइमेक्स नै हो । त्यसपछि पनि केही छैन । त्यसो त पर्फेक्सनको पनि मान्छेपिच्छे आआफ्ना परिभाषा र मापदण्ड हुँदा हुन् । धेरै धनसम्पत्ती कमाउनुलाई मान्ने कि, कहीँ कुनै ओहोदामा पुग्ने कुरालाई मान्ने कि, अथवा केलाई मान्ने ? भन्ने नै हो भने मान्छेले चाहेको जेजति पाउँछ, त्यसपछि पनि थुनिँदैन उसका इच्छा र रहरका मूल । त्यसपछि पनि तृप्त ऊ हुन सक्दैन । हुनु पनि हुँदैन । एउटा प्यास सधैँ रहिरहनुपर्छ । खोजको एउटा चाहना सधैँ रहिरहनुपर्छ । एउटा सानो खाडल सधैँ परिरहन्छ, पर्नुपनि पर्छ । एउटा अर्को लक्ष्य फेरि ऊभित्र जन्मिहाल्छ, जन्मनै पर्छ । पुगेर चुचुराहरु कहिल्यै सकिँदैन । एउटापछि अर्को आइरहन्छ । हिँडेर बाटोको अन्त्य कहिल्यै हुँदैन ।
पूर्ण केही कुरा हुँदैन । सत् प्रतिशत भन्ने चीज पनि संसारमा बिरलै भेटिन्छन् । पूर्ण सन्तुष्टि प्राप्त गर्न नसकेर असन्तुष्ट हुनुको पनि कुनै तूक छैन । बस् ! मानिस मानिसका मनको एउटा कुनोबाट यो खोजको प्यास नसुकोस् ।

अन्त्य मानिसको हुन्छ, मानिसले देखेका सपनाहरुको हुँदैन । मानिसले हुर्काएका रहरहरुको अन्त्य हुँदैन । ऊभित्रको प्यासको अन्त्य हुँदैन । मानिस नमरुञ्जेलसम्म अतृप्त रहिरहन्छ । यस्तो सधैँ चलिरहन्छ ।

(प्रकासित कान्तिपुर साप्ताहिक
२०७५ भदौ १५ गते शुक्रबार)
तस्बिर : गुगल

 

Posted in blog(fp).